बन्दीपुरकै सर्वाधिक पुरस्कार राशिको नवौं जिवाइसी कपको उपाधि हरिनास–६ लाई
बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका–२ थारुबासमा आयोजित नवौं गोरखकाली (जिवाइसी) कप–२०८३ गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि हरिनास गाउँपालिका–६ ले जितेको छ ।
सोमबार हरितालिका तीजका दिन भएको फाइनलमा हरिनास–६ ले आयोजक गोरखकाली युवा क्लब बन्दीपुर–४ भुमर्सेलाई लगातार तीन सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । फाइनल खेल बेस्ट अफ फाइभ प्रणालीमा खेलाइएको थियो ।
उपाधिसँगै हरिनास–६ ले १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । आयोजक गोरखकाली युवा क्लब ५१ हजार १ सय ११ रुपैयाँसहित दोस्रो तथा सेराटार युवा क्लब बन्दीपुर ३१ हजार १ सय ११ रुपैयाँसहित तेस्रो भएको छ ।
तेस्रो स्थानका लागि भएको खेलमा सेराटार युवा क्लबले मिलिजुली युवा क्लब खहरेलाई पराजित गरेको थियो । पाँच सेटसम्म चलेको खेलमा सेराटारले पहिलो र दोस्रो सेट जितेको थियो भने मिलिजुलीले तेस्रो र चौथो सेट आफ्नो पक्षमा पारेको थियो । निर्णायक पाँचौं सेटमा सेराटारले जित निकाल्दै तेस्रो स्थान सुरक्षित गरेको हो ।
प्रतियोगितामा सेराटार युवा क्लबका सुगम सुनार उत्कृष्ट सटर घोषित भए । आयोजक गोरखकाली युवा क्लबका संगीत मानन्धर उत्कृष्ट क्लिन अट्याकर, सुभाष थापा उत्कृष्ट डिफेन्डर र सुशील खड्का उत्कृष्ट स्पाइकर घोषित भए । विक्की गुरुङ उत्कृष्ट टिम कोच तथा विकल थापा उत्कृष्ट खेलाडी घोषित भए ।
प्रतियोगिताका क्रममा गोरखकाली युवा क्लबका पूर्वअध्यक्ष स्वर्गीय यामबहादुर थापाकी छोरीलाई २० हजार रुपैयाँ आर्थिक सहयोगसमेत प्रदान गरिएको थियो ।
गोरखकाली युवा क्लबका सचिव सुदिन पौडेलका अनुसार गाउँस्तरमा भलिबल खेलको विकास, स्थानीय खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने र नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । उनका अनुसार यस वर्षको प्रतियोगिता बन्दीपुरकै सर्वाधिक पुरस्कार राशिसहित आयोजना गरिएको थियो ।


प्रतिक्रिया