NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ ३१ गते

भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा भेटिएपछि कारबाही गर्न निर्देशन

काठमाडौं । आफू तथा आफ्नो परिवारका सदस्यको नाममा नेपालभर कुनै जग्गा–जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान समितिले उनीहरूमाथि आवश्यक कारबाही गर्न सम्बन्धित जिल्ला समितिलाई निर्देशन दिएको छ।

भूमि समस्या समाधान समितिले सम्बन्धित जिल्ला भूमि समस्या समाधान समितिलाई पत्र पठाउँदै स्वघोषणामा जग्गा नभएको उल्लेख गरेका व्यक्तिहरूको विवरण भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट रुजु गर्दा उनीहरू तथा उनीहरूका परिवारका सदस्यको नाममा जग्गा रहेको भेटिएको जनाएको हो।

समितिका अनुसार भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलितका रूपमा आवेदन दिएका व्यक्तिहरूले गरेको स्वघोषणालाई सरकारी अभिलेखसँग रुजु गर्ने क्रममा चार जनाको नाममा जग्गा रहेको फेला परेको हो।

भूमि अभिलेखबाट प्राप्त विवरणअनुसार इलाम, ताप्लेजुङ, झापा र काभ्रे जिल्लामा ती व्यक्ति तथा उनीहरूका परिवारका सदस्यको नाममा जग्गा रहेको पाइएको समितिले जनाएको छ।

समितिले झुटा विवरण पेस गरी भूमिहीनका लागि उपलब्ध हुने सुविधा लिन खोजेको पुष्टि भएमा भूमिसम्बन्धी ऐन, २०२१ बमोजिम आवश्यक कारबाही अघि बढाउन सम्बन्धित जिल्ला समितिलाई निर्देशन दिएको छ।

भूमिहीनका रूपमा गरिएको स्वघोषणालाई सरकारी अभिलेखसँग रुजु गर्ने क्रममा यस्ता अन्य विवरणसमेत फेला परे आवश्यक प्रक्रिया अघि बढाइने समितिले जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष