पद्मश्री साहित्य पुरस्कार ‘सलह’लाई, साधना सम्मान धरावासी र गौरव पुरस्कार आचार्यलाई
काठमाडौं । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले विसं २०८२ मा प्रकाशित नेपाली साहित्यका उत्कृष्ट कृतिमध्ये प्रसिद्ध कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास **‘सलह’**लाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
प्रतिष्ठानमा प्राप्त १९२ पुस्तकमध्ये विस्तारित सूचीमा परेका १५ र संक्षिप्त सूचीका पाँच कृतिमध्येबाट मूल्याङ्कन समितिले ‘सलह’लाई पुरस्कारका लागि छनोट गरेको हो।
प्रतिष्ठानका अनुसार ‘सलह’ले नेपाली समाजका सीमान्त आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको छ। काव्यिक भाषा, प्रतीकात्मकता, जीवन्त प्रकृति चित्रण र मार्मिक कथनशैलीलाई कृतिका प्रमुख विशेषताका रूपमा मूल्याङ्कन गरिएको छ।
यस्तै, नेपाली साहित्यमा पाँच दशकदेखि साधनारत साहित्यकार कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान प्रदान गर्ने निर्णय गरिएको छ। ‘शरणार्थी’, ‘राधा’ र ‘आधा बाटो’ लगायत ३२ कृतिका लेखक तथा झन्डै दुई दर्जन ग्रन्थका सम्पादक धरावासीले आख्यानमार्फत सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद र इतिहासका उपेक्षित पक्षलाई उत्तरआधुनिक ढाँचामा प्रस्तुत गर्दै आएका छन्।
यस वर्षको पद्मश्री गौरव पुरस्कार प्रा.डा. जयराज आचार्यलाई प्रदान गरिने भएको छ। नेपाली, अङ्ग्रेजी र संस्कृत भाषाका ज्ञाता तथा परराष्ट्र नीति र कूटनीतिका अध्येता आचार्यले साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिसम्बन्धी दर्जनभन्दा बढी कृति लेखेका छन्।
‘यदुनाथ खनालः जीवनी र विचार’, ‘भानुभक्त आचार्यको रामायण नेपाली र अङ्ग्रेजीमा’ तथा ‘नेपालको परराष्ट्र नीतिः एक विमर्श’ उनका उल्लेखनीय कृतिमध्ये हुन्। संयुक्त राष्ट्रसङ्घमा नेपालका स्थायी प्रतिनिधिका रूपमा समेत कार्यरत आचार्यले नेपाली भाषा, साहित्य र कूटनीतिक चिन्तनलाई अन्तर्राष्ट्रिय सन्दर्भसँग जोड्न योगदान पुर्याएका छन्।
तीनै पुरस्कारको राशि जनही तीन लाख रुपैयाँ र सम्मानपत्र रहेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन्।
ताजा अपडेट
-
बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा
-
आत्मविश्वाससहित लयमा फर्किँदै पर्यटन, बोर्डद्वारा बंगलादेशी कर्पोरेट टोलीको स्वागत
-
पद्मश्री साहित्य पुरस्कार ‘सलह’लाई, साधना सम्मान धरावासी र गौरव पुरस्कार आचार्यलाई
-
जापान शृङ्खला र एसियन गेम्सका लागि भारतको टी–२० टोली घोषणा, श्रेयस अय्यर कप्तान
-
विमानस्थल आसपास चङ्गा, ड्रोन र बेलुन नउडाउन आग्रह


प्रतिक्रिया