आज चार वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ। आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र राज्यका निर्देशक सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्दै छ ।
आज दिउँसो २ बजे बस्ने अर्थ समितिको बैठकमा रसुवा बाढीपश्चात् अर्थतन्त्रमा परेको प्रभाव एवं जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
यस्तै, आज बिहान साढे ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन/भ्रमण लगायत समसामयिक विषयमा छलफल गर्न समितिको आन्तरिक बैठक सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
यस्तैगरी, आज बिहान १० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा “खानी तथा खनिज पदार्थ विधेयक,२०८३” माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।
आज बिहान साढे १० बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा गत भाद्र १० गते भोटेकोशी लगायतका नदीहरूमा आएको बाढी र जलवायु परिवर्तनको असर लगायतका विषयमा विज्ञसँग छलफल गर्ने कार्यसूची छ ।


प्रतिक्रिया