NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज २ गते

प्रधानमन्त्री शाह २२ सेप्टेम्बरमा न्यूयोर्क जाँदै, प्रतिनिधिमण्डलमा को-को?

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनअन्तर्गत आयोजना हुने ‘उच्चस्तरीय सप्ताह’ मा नेपालको सहभागिताबारे परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिएको छ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल २२ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने जनाएको हो।

प्रधानमन्त्री शाहले २४ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ। न्यूयोर्क बसाइका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले जनाएको छ।

महासभाका विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनाल भने प्रधानमन्त्रीभन्दा दुई दिनअघि, अर्थात् २० सेप्टेम्बरमै न्यूयोर्क प्रस्थान गर्नेछन्।

परराष्ट्र मन्त्रालयका अनुसार उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालका अतिरिक्त प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यान्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी सहभागी हुनेछन्।

महासभाको उच्चस्तरीय सप्ताहका क्रममा प्रधानमन्त्री शाहले विभिन्न उच्चस्तरीय कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्नेछन्। उनको २६ सेप्टेम्बर २०२६ मा स्वदेश फर्कने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष