संविधान समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्छ : सभापति रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको समीक्षा समाजको पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताएका छन्।
संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले संविधान अक्षरहरूको सँगालो मात्र नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका हुन्। उनले संविधानले सुनिश्चित गरेका मौलिक हक सीमान्तकृत तथा पछाडि परेका नागरिकको दैनिक जीवनमा अनुभूत हुने अवस्था निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
लामिछानेले आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने संवैधानिक अभिभारा अझै पूरा हुन बाँकी रहेको उल्लेख गरेका छन्। संविधान जीवन्त दस्तावेज भएकाले राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा यसको अन्तर्वस्तु परिष्कृत तथा आवश्यकताअनुसार संशोधन गर्न सकिने उनको भनाइ छ।
संविधानमै रहेको व्यवस्थाले पनि समयानुकूल समीक्षा आवश्यक रहेको संकेत गरेको भन्दै लामिछानेले अब हुने समीक्षा समाजको पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले बेथिति र कमजोरी सच्याउँदै लोकतन्त्र तथा समावेशितालाई थप बलियो बनाउने गरी विवेकपूर्ण बहस गर्ने उपयुक्त अवसर संविधान दिवस भएको बताएका छन्।
‘बलियो राज्य भनेको बलिया संस्था हुन्’ भन्दै लामिछानेले संविधान दिवसले राजनीतिक शक्ति, राज्यका अंग र आम नागरिकलाई आ–आफ्ना स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणको साझा एजेन्डामा एकताबद्ध हुन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।
लामिछानेले संविधान निर्माण तथा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका क्रममा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेका छन्।
ताजा अपडेट
-
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका २४२ स्ववासी परिवारले पाए लालपुर्जा
-
संविधान समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्छ : सभापति रवि लामिछाने
-
फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन
-
पश्चिम नवलपरासीबाट ८० लाख रुपैयाँभन्दा बढीका मोबाइल पार्ट्स बरामद
-
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना


प्रतिक्रिया