असोज ९ देखि ११ सम्म भारी वर्षाको सम्भावना
काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र ‘डीप डिप्रेसन’मा परिणत भई नेपालमा प्रभाव पार्ने देखिएको छ।
विभागले सोमबार जारी गरेको विशेष बुलेटिनअनुसार असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षा हुनेछ। ती प्रदेशका केही स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ। कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि भारी वर्षाको पूर्वानुमान गरिएको छ। यसको प्रभाव बुधबारदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशमा देखिनेछ।
भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढेको भन्दै प्राधिकरणले सर्वसाधारणलाई अत्यावश्यकबाहेकको यात्रा नगर्न र रात्रिकालीन यात्राबाट बच्न सुझाव दिएको छ। जोखिमयुक्त राजमार्गमा आवश्यक उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
प्राधिकरणले नदी किनार र पहिरोको जोखिम भएका क्षेत्रका बासिन्दालाई विशेष चनाखो रहन आग्रह गरेको छ। स्थानीय तह र सुरक्षा निकायलाई पूर्वसूचनाका आधारमा नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न भनिएको छ। मौसमसम्बन्धी जानकारीका लागि ११५५ र विपद्मा परेमा १२३४, १०० वा १११४ मा सम्पर्क गर्न सकिनेछ।
ताजा अपडेट
-
असोज ९ देखि ११ सम्म भारी वर्षाको सम्भावना
-
दसैँको अग्रिम टिकट बुकिङ मौसमको अवस्था हेरेर मात्रै खुलाइने
-
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
-
राजदूत नियुक्तिमा आफ्नै मापदण्ड पालना नगरेको सांसद शाहीको आरोप
-
घाइते र मुद्दा खेपिरहेका जेनजी युवालाई तत्काल न्याय दिन सरकारसँग सांसद पाठकको माग


प्रतिक्रिया