NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज ७ गते

राष्ट्रसंघ महासभामा नेपालको जलवायु संकटको आवाज प्रखर रूपमा उठाउनुपर्छः उपसभापति शर्मा

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन साहमार्फत नेपालको आवाज प्रखर र परिपक्व ढंगले प्रस्तुत हुनुपर्ने बताएका छन् ।

शर्माले भोटेकोसी विपद्पछि जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको गम्भीर संकटलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रमाणित तथ्य र सबल तर्कसहित उठाउन आवश्यक रहेको बताएका हुन् ।

उनले अहिलेको अवस्थामा सिंगो देश प्रधानमन्त्रीको साथमा रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका विषयमा नेपालले अन्तर्राष्ट्रिय नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

शर्माले नेपालले कार्बन उत्सर्जन न्यूनीकरणका लागि साना राष्ट्रहरूको नेतृत्व गर्ने क्षमता विकास गर्न आवश्यक रहेको बताए । पेरिस सम्झौताअनुसार हरितगृह ग्यास उत्सर्जन घटाउने तथा जलवायु अनुकूलनका लागि राष्ट्रहरूले आफैं निर्धारण गरेका राष्ट्रिय लक्ष्य तथा कार्ययोजनाको कार्यान्वयनको १० वर्षे समीक्षा पनि आवश्यक रहेको उनले बताए ।

त्यस्तै, उनले जलवायु न्यायको अभियानलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् । पृथ्वीको संरक्षणका लागि नेपालको हिमाल जोगाउने अभियानलाई अन्तर्राष्ट्रियस्तरमा अघि बढाउनुपर्ने उनको भनाइ छ ।

उपसभापति शर्माले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेका असरलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्दै जलवायु न्याय, हिमाल संरक्षण र उत्सर्जन न्यूनीकरणका विषयमा नेपालको नेतृत्व स्थापित गर्नुपर्ने बताएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष