अधिकांश जिल्लामा कांग्रेसको क्षेत्रीय अधिवेशन , यसरी चुनिन्छन् नेतृत्व र प्रतिनिधि
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत अधिकांश ठाउँमा अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीयस्तरका अधिवेशन आज हुँदै छ।
अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन सारिएको भएपनि अधिकांश निर्वाचन क्षेत्रमा पूर्वनिर्धारित तालिका अनुसार आजै क्षेत्रीय अधिवेशन गर्न लागेका हुन्।
निर्वाचन समितिले विगत दुई दिन अत्यधिक वर्षा भएको र आज तथा भोलि पनि भारी वर्षा हुने पूर्वानुमानका आधारमा असोज १३ गतेभित्र अनुकूलता अनुसार अधिवेशन सम्पन्न गर्न सकिने गरी विकल्प दिइएको थियो ।
निर्वाचन समितिले विकल्प दिएपछि विशेष गरी पहाडी जिल्लाका अत्यधिक वर्षा भएका र बाटो अवरुद्ध बनेका केही निर्वाचन क्षेत्रमा भोलि र पर्सि अधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिएको छ।
आजदेखि पुनः मौसममा सुधार देखिएकाले अधिकांश स्थानमा आजै र बाँकीमा भोलि तथा पर्सिसम्ममा अधिवेशन सम्पन्न हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए। उनका अनुसार क्षेत्रीय अधिवेशनका लागि अहिलेसम्म कुनै अवरोध वा समस्या नदेखिएकाले सहज रूपमा अधिवेशन सम्पन्न हुने वातावरण बनेको छ।
कुन पदमा कति चुनिन्छन् ?
सङ्घीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट सङ्घीय निर्वाचन क्षेत्रीय कार्यसमिति, सङ्घीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुनेछन्।
पालिका सभापति र प्रदेश सभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति भने सङ्घीय निर्वाचन क्षेत्रीय कार्यसमिति र प्रदेश सभा निर्वाचन क्षेत्रीय कार्यसमितिका पदेन सदस्य र स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन्। पदेन सदस्यलाई मतदान गर्ने अधिकार भएपनि उम्मेदवार बन्ने अधिकार भने नहुने काङ्ग्रेसको विधानमा उल्लेख छ।
प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक–एक जना निर्वाचित हुनेछन् भने सहसचिवमा एक महिलासहित दुई जना र कोषाध्यक्षमा सभापतिले मनोनयन गरेका एक जना रहने व्यवस्था छ। यस समितिमा उपसभापतिको व्यवस्था गरिएको छैन।
यस्तै, कार्यसमिति सदस्यमा १८ जना निर्वाचित हुने निर्वाचन निर्देशिकामा उल्लेख छ। ती १८ जनामध्ये दुवै प्रदेश सभा क्षेत्रबाट एक महिला र दुई खुलासहित तीन–तीन जनाको दरले क्षेत्र ‘क’ र ‘ख’ बाट कुल ६ जना निर्वाचित हुनेछन्।
त्यस्तै, खुलातर्फबाट एक महिलासहित चार जना, युवामध्येबाट एक महिलासहित २ जना, जनसंख्याका आधारमा समानुपातिक तर्फबाट ६ जना निर्वाचित हुनेछन् भने अन्य ६ जनालाई क्षेत्रीय कार्यसमिति सदस्यमा मनोनयन गर्न सकिने व्यवस्था छ।
क्षेत्रीय अधिवेशनबाटै चयन हुने महाधिवेशन प्रतिनिधिमा भने महिला ४, खुला १०, एक महिलासहित तीन युवा, जनसंख्याका आधारमा समानुपातिकतर्फ १० जना निर्वाचित हुनेछन्।
साथै श्रमिक, पेसागत विज्ञ, अपाङ्गता भएका व्यक्ति, मुस्लिमसहित अल्पसङ्ख्यक, दलित, तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट एक–एक जना चयन हुने व्यवस्था गरिएको छ। यसरी हरेक सङ्घीय निर्वाचन क्षेत्रबाट ३३ जना सङ्घीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन्।
ताजा अपडेट
-
१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
-
अधिकांश जिल्लामा कांग्रेसको क्षेत्रीय अधिवेशन , यसरी चुनिन्छन् नेतृत्व र प्रतिनिधि
-
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना
-
नारायणी नदीमा बहाव बढ्दा सुस्ताको थारुटोलामा डुबान, २५ जनाको उद्धार
-
गण्डकीमा आज पर्ने छ ‘भारी’देखि ‘अति भारी’ वर्षा, सोमबारदेखि खुल्ने छ मौसम


प्रतिक्रिया