पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
काठमाडौं- अविरल वर्षाका कारण पाल्पामा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। लगातार दुई दिनदेखिको वर्षाले जिल्लाका विभिन्न क्षेत्रमा बाढी र पहिरोको जोखिम बढाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिका-२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका-६ ठिमुरेकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको हो। प्रहरी नायब उपरीक्षक विमल भट्टराईले ठिमुरेमा घर पुरिँदा बेपत्ता भएकी सारुको शव खोजीका क्रममा फेला परेको बताए।
वर्षाका कारण जिल्लाका ग्रामीण सडक र बस्तीहरू उच्च जोखिममा परेका छन्। यसैबीच कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा र गुल्मी जोड्ने पक्की पुल बगाएको छ। उक्त पुल कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याम नजिकै रहेको थियो।
बाढीका कारण पाल्पाको माडीफाँट डुबानमा परेको छ भने झडेवा फाँटलगायतका क्षेत्रमा पानी पस्दा धानबालीमा क्षति पुग्ने देखिएको छ। माथागढी गाउँपालिका-४ झडेवाको देउगीर क्षेत्रमा जमिन चिरिएपछि दर्जनौँ परिवार जोखिममा परेका छन्। गाउँपालिका अध्यक्ष यम चिदीका अनुसार जोखिममा परेका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ।
लगातारको वर्षाले नदी तथा खोलामा पानीको सतह बढेको छ। बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह र सुरक्षा निकायले सतर्क रहन आग्रह गरेका छन्।
ताजा अपडेट
-
कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो
-
अविरल वर्षाले देशभरका मुख्य राजमार्ग तथा सडक अवरुद्ध
-
सेनाको निष्कर्षः जलविद्युतको पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय
-
पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
-
आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) आजदेखि विधिवत् आरम्भ गरिँदै


प्रतिक्रिया