अविरल वर्षाले देशभरका मुख्य राजमार्ग तथा सडक अवरुद्ध
काठमाडौं- केही दिनदेखि जारी अविरल वर्षाका कारण देशभरका मुख्य राजमार्ग, राष्ट्रिय लोकमार्ग र भित्री सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरी र स्थानीय प्रशासनका अनुसार बाढी र पहिरोले यातायात सेवा प्रभावित बनेको छ।
धादिङको कृष्णभीर र गजुरी तथा तनहुँको घाँसीकुवा, मौरीभीर, सेराटार र चुनपहरामा पहिरो जाँदा राजमार्ग दुवैतर्फ ठप्प छ। त्यस्तै, बिपी राजमार्गमा पर्ने काभ्रेको चारसयवेशी र गिम्दीवेशीमा पहिरो जाँदा सडक पूर्ण अवरुद्ध भएको छ। काभ्रे र सिन्धुली क्षेत्रमा सुरक्षाका लागि बेलुका ५:०० देखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
अरनिको राजमार्गको धुलिखेल र कान्ति लोकपथको ललितपुरस्थित टाकुर्चे र पाङदुरडोलमा पहिरोका कारण यातायात अवरुद्ध छ। नारायणगढ-मुग्लिन सडक खण्डमा पनि ठाउँ-ठाउँमा पहिरो जाँदा सडक पूर्ण रूपमा बन्द गरिएको छ। रसुवाको खाल्टेमा त्रिशूली नदीको कटानले पासाङ ल्हामु राजमार्ग पूर्ण रूपमा नष्ट भएको छ।
गण्डकी प्रदेशमा सिद्धार्थ राजमार्गको पुतलीबजार, मध्यपहाडी लोकमार्गको बागलुङ र पर्वत खण्ड, तथा बेँसीसहर-मनाङ सडक खण्डमा पहिरो जाँदा सवारी आवागमन ठप्प छ। कर्णाली र सुदूरपश्चिमका विभिन्न सडक खण्डमा पनि पहिरो र लेदोका कारण यातायात अवरुद्ध भएका छन्। कालिकोटको गगने खोला, हुम्लाको खच्चा र दार्चुलाको ऐरिछिनामा सडक अवरुद्ध भएको छ।
सडक विभाग र प्रशासनले जोखिमलाई मध्यनजर गर्दै विभिन्न राजमार्गमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएका छन्। त्रिभुवन राजपथमा निश्चित समय तालिका लागू गरिएको छ भने १५ टनभन्दा बढी भार भएका सवारी साधनलाई निषेध गरिएको छ। टोखा-छहरे सडकमा पनि राति १०:०० देखि बिहान ५:०० बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ। कोशी प्रदेशका भित्री सडकहरूमा साँझ ७:०० देखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालन गर्न पाइने छैन।
ताजा अपडेट
-
कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो
-
अविरल वर्षाले देशभरका मुख्य राजमार्ग तथा सडक अवरुद्ध
-
सेनाको निष्कर्षः जलविद्युतको पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय
-
पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
-
आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) आजदेखि विधिवत् आरम्भ गरिँदै


प्रतिक्रिया