NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज ११ गते

बाढी र पहिरोका कारण एक हजार ३०३ मेगावाट बिजुली अवरुद्ध

काठमाडौँ- अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत् उत्पादन, प्रसारण र आपूर्ति प्रभावित भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार पोखरा, बुटवल, हेटौँडा र काठमाडौँ क्षेत्रको विद्युत् प्रणालीमा बाढी, प्रसारण लाइनमा फाल्ट, उपकरणमा समस्या र ओभरलोडका कारण अवरोध देखिएको हो।

मन्त्रालयको विवरणमा उल्लेख भएका विभिन्न उत्पादन, प्रसारण तथा लोड कटौतीको परिमाण जोड्दा करिब १ हजार ३०३ मेगावाट बराबरको विद्युत् अवरोध देखिएको छ। यो एकै समयमा भएको विद्युत् अवरोधको परिमाण भने होइन। विभिन्न समयका उत्पादन, प्रसारण र लोड कटौतीको विवरणको कुल योग हो।

सबैभन्दा बढी प्रभाव पोखरा क्षेत्रमा परेको मन्त्रालयको विवरणमा उल्लेख छ। कुश्मा-न्यु बुटवल २२० केभी प्रसारण लाइनमा फाल्ट हुँदा करिब २०० मेगावाट प्रभावित भएको छ। त्यस्तै रौघाङ-दाना लाइन-१ र २ मा करिब १५५ मेगावाट प्रभावित भएको छ।

बाढीका कारण कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस-नामर्जुङ, सेती नदी-करुवासेट, अपर दोर्दी र मोदीलगायतका आयोजनाको उत्पादन तथा आपूर्ति अवरुद्ध भएको मन्त्रालयले जनाएको छ। पोखरा क्षेत्रका विभिन्न आयोजनाबाट मात्रै ४०० मेगावाटभन्दा बढी क्षमता प्रभावित भएको देखिएको छ।

रौघाट क्षेत्रमा न्यू बुटवल-कुश्मा २२० केभी प्रसारण लाइनमा आएको फाल्टका कारण करिब ११० मेगावाट प्रभावित भएको छ। उक्त लाइन बिहान ९ः५० बजे पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको विवरणमा उल्लेख छ।

बुटवल क्षेत्रमा न्यु भरतपुर-न्यु बुटवल २२० केभी लाइनमा रुख ढलेर फाल्ट भएको थियो। उक्त लाइन बिहान ९ः५१ बजे चार्ज गरिएको छ। चापर-पथलैया १३२ केभी लाइन अवरुद्ध हुँदा कावासोती सबस्टेसनमा एक घण्टा लोड कटौती गरिएको मन्त्रालयको विवरणमा उल्लेख छ।

हेटौँडा क्षेत्रमा करिब ३२ मेगावाट विद्युत् प्रभावित भएको छ। कावासोती-भारतपुर १३२ केभी लाइनअन्तर्गत भारतपुर सबस्टेसनमा सीभीटी जलेर समस्या आएको छ। सिमरा सबस्टेसनमा करिब २० मेगावाट, अमलेखगन्ज, परवानीपुर र वीरगन्जका उद्योगमा करिब ८० मेगावाट तथा काम्ने सबस्टेसन र उद्योगमा करिब २५ मेगावाट आपूर्ति प्रभावित भएको छ।

काठमाडौँ क्षेत्रमा पाटन र टेकु सबस्टेसनमा बिहान ९ देखि ९ः१० बजेसम्म करिब १० मिनेट विद्युत् अवरोध भएको छ। पाटनमा पथलैया लाइन र केएल-१ स्युचाटार ६६ केभी लाइन एकै समयमा ओभरलोड भएपछि बाढीका कारण एमआरएसको आपत्कालीन आपूर्ति प्रयोग गरिएको मन्त्रालयको विवरणमा उल्लेख छ।

बाढी र प्रसारण प्रणालीमा आएको अवरोधका कारण विभिन्न क्षेत्रमा लोड कटौतीसमेत गरिएको छ। कावासोती सबस्टेसनमा २० मेगावाट र हरदी सबस्टेसनमा २५ मेगावाट लोड बिहान ८ देखि ९ः१५ बजेसम्म कटौती गरिएको थियो।

त्यस्तै सुनवल-मैनिया तथा बुटवल सबस्टेसनअन्तर्गतका उद्योगमा ५० मेगावाट लोड बिहान ६ः०२ बजेदेखि प्रभावित भएको छ। सिमरा सबस्टेसनमा २० मेगावाट लोड बिहान ६ः०० देखि १०ः०० बजेसम्म कटौती गरिएको थियो। अमलेखगञ्ज, परवानीपुर र वीरगञ्जका उद्योगमा ८० मेगावाट लोड बिहान ६ः०१ बजेदेखि प्रभावित भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बाढीका कारण प्रसारण लाइन तथा उत्पादन केन्द्रमा अवरोध, लाइन फाल्ट, सबस्टेसनका उपकरणमा समस्या र ओभरलोडका कारण विद्युत् प्रणाली प्रभावित भएको हो। विशेषगरी पोखरा-बुटवल २२० केभी प्रसारण करिडोर र पथलैया आसपासका १३२ केभी प्रसारण लाइनमा आएको अवरोधले पश्चिम तथा मध्य नेपालको विद्युत् आपूर्तिमा असर पारेको विवरणमा उल्लेख छ।

ताजा अपडेट

नेपालवाच विशेष