मर्स्याङ्दीमा बाढीको उच्च जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न निर्देशन
काठमाडौं- मनाङको घट्टेखोलामा निरन्तर पहिरो खसिरहेपछि मर्स्याङ्दी नदीमा भीषण बाढी आउन सक्ने जोखिम बढेको छ। विपद्को उच्च सम्भावनालाई मध्यनजर गर्दै लमजुङ प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित तथा अग्लो स्थानमा सर्न आग्रह गरेको छ।
लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार आज साँझ करिब ७ बजेदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी नदी किनारका बस्तीहरूमा माइकिङ सुरु गरिएको छ। प्रशासनले विशेष गरी खुदी, भकुन्डे र पाउदी क्षेत्रका बासिन्दालाई घर छाडेर उच्च स्थानमा जान निर्देशन दिएको हो।
मनाङको चामे गाउँपालिका-४ स्थित घट्टेखोलामा पहिरो खस्ने क्रम नरोकिएको खनालले बताए। पहिरोले खोला थुनिएर बाँध फुट्दा तल्लो तटीय क्षेत्रमा ठूलो विनाश निम्त्याउन सक्ने जोखिम छ। खनालले भने, ‘अहिले नदीको पानीको बहाव केही कम देखिए पनि माथिल्लो क्षेत्रको घट्टेखोलामा पहिरो झर्ने क्रम रोकिएको छैन। कुनै पनि बेला खोला थुनिन सक्छ र त्यो फुटेर आउँदा नदी आसपासका बस्ती सखाप पार्ने खतरा छ। पाउदीलगायत स्थानमा यसअघि नै बाढीको प्रभाव देखिइसकेकाले समयमै सतर्कता अपनाएका हौं।’
बाढीको गम्भीर जोखिमलाई मध्यनजर गर्दै लमजुङमा रहेका दुई ठूला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द गराइएको छ। प्रशासनको आग्रहपछि ७० मेगावाटको मध्य मर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनाका बाँधका सबै ढोका खोलेर पानीको निकास खुला गरिएको छ। साथै मर्स्याङ्दी करिडोरमा निर्माणाधीन आयोजनाका प्राविधिक तथा मजदुरहरूलाई समेत सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। प्रशासनले नदी किनारमा अनावश्यक आवतजावत नगर्न सर्वसाधारणलाई सूचित गरेको छ।
ताजा अपडेट
-
हिमलुङ हिमालमा हिमपहिरो : दुई गाइडको मृत्यु, १४ जना अझै बेपत्ता
-
विपद्को जोखिम अझै टरेको छैन, सतर्क रहनुस् : प्रधानमन्त्री शाह
-
मर्स्याङ्दीमा बाढीको उच्च जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न निर्देशन
-
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा परिवारको जिम्मा
-
बाढी र पहिरोका कारण एक हजार ३०३ मेगावाट बिजुली अवरुद्ध


प्रतिक्रिया