NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज १२ गते

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान। संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले तत्काल अमेरिकासँग वार्ता गर्ने कुनै योजना नरहेको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ।

आधिकारिक इरना समाचार एजेन्सीले सोमबार अज्ञात स्रोतलाई उद्धृत गर्दै इरानी प्रतिनिधिमण्डलको अमेरिकासँग तत्काल वार्ता गर्ने योजना नरहेको जनाएको हो । प्रतिनिधिमण्डल हाल न्यूयोर्कमा रहेको र मंगलबार तेहरान फर्किने तयारीमा रहेको समाचारमा उल्लेख छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार चाँडै इरानसँग वार्ता पुनः सुरु हुने अपेक्षा व्यक्त गरेका थिए । त्यसको एक दिनअघि उनले इरानले सात दिनभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने प्रस्ताव अस्वीकार गरेका थिए ।

इरानले युद्ध अन्त्य गर्न तथा रणनीतिक जलमार्ग स्ट्रेट अफ होर्मुज पुनः खोल्न सातवटा सर्त अघि सारेको बताइएको छ । युद्धअघि विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास यही जलमार्गबाट आवतजावत हुने गरेको थियो ।

अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको द्वन्द्वमा स्ट्रेट अफ होर्मुज प्रमुख विवादको विषय बनेको छ। आक्रमणपछि इरानले जलमार्गमा आवागमन नियन्त्रण गरेको र अमेरिकाले इरानी बन्दरगाहमा नाकाबन्दी लगाएर जवाफ दिएको बताइएको छ ।

कतारको मध्यस्थतामा अमेरिकी दूत स्टिभ विटकोफ र जारेड कुशनर तथा इरानी विदेशमन्त्री अब्बास अराघचीबीच अप्रत्यक्ष वार्ता भएको एक साताभन्दा कम समयपछि पुनः वार्ता हुन सक्ने अपेक्षा गरिएको थियो ।

इरानले लेबनानसहित मध्यपूर्वमा सात दिनको युद्धविराम, विदेशमा रहेको आफ्नो सम्पत्ति फुकुवा, इरानी तेलमाथिको प्रतिबन्ध हटाउनुपर्ने र अमेरिकी नौसेनाको नाकाबन्दी अन्त्य गर्नुपर्ने माग अघि सारेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार ती माग अस्वीकार गरेका थिए ।

सेप्टेम्बर १ यता अमेरिकाले इरानमाथि थप आक्रमण नगरेपछि द्वन्द्व केही मत्थर भएको बताइए पनि स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने पानीजहाजमाथि आक्रमणका घटना जारी रहेको समाचारमा जनाइएको छ।