दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२ खेल समावेश
कर्णाली । आगामी मङ्सिर १६–२७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ मा ३२ खेल समावेश गरिएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत राखेपका सदस्य सचिव रामचरित्र मेहताले प्रतियोगितामा समावेश खेलमध्ये २८ कर्णाली र बाँकी चार खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुने बताए ।
एथ्लेटिक्स, ब्याटमिन्टन, बक्सिङ, बास्केटबल, क्रिकेट, फुटबल, ह्याण्डबल, रग्बी, तेक्वान्दो, भलिबल, उसु, कुस्ती, कबड्डी, कराते, फूल कन्ट्याक्ट कराते, हक्की, ई–स्पोट्स, स्क्वास, साइक्लिङ, जिम्न्यास्टिक र सेपाकताक्रो गरी २१ खेल सुर्खेत जिल्लामा सञ्चालन हुने सदस्य सचिव मेहताले बताए ।
त्यसैगरी, शारीरिक सुगठन कालीकोट, जुडो जाजरकोट, खो खो रुकुमपश्चिम, आइटिएफ तेक्वान्दो तथा बुद्धिचाल दैलेख, टेबलटेनिस सल्यान र आर्चरी जुम्ला गरिने उनको भनाइ छ । सदस्य सचिव मेहताका अनुसार पौडी, भारत्तोलन, टेनिस र सुटिङ लुम्बिनी प्रदेशको नेपालगञ्जमा सञ्चालन गर्ने प्रारम्भिक छलफल भएको छ । यद्यपि प्राविधिक समितिको थप छलफलपछि ती खेलहरु पनि कर्णालीमै हुनसक्ने उनले बताए ।
उक्त खेलका लागि सङ्घीय सरकारको रु ७१ करोड र राष्ट्रिय पारा खेलका लागि रु तीन करोड बजेट विनियोजन भएको सदस्य सचिव मेहताले बताए । खेलमा खेलाडी र अफिसियल्स गरी करिब नौ हजारको सहभागिता रहने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले रङ्गशालाको काम शतप्रतिशत सम्पन्न भएको भन्दै आवास व्यवस्थापनको चुनौती समाधानको तयारी थालिएको बताए । परिषद्का उपाध्यक्षको संयोजकत्वमा आवास व्यवस्थापन समिति गठन गरिएको र त्यसले भएका समस्या पहिचान गर्ने तथा प्रदेश सरकारले त्यसको समाधान गर्ने बताए ।
ताजा अपडेट
-
गगनको अभिव्यक्तिपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२ खेल समावेश
-
कांग्रेस १५औँ महाधिवेशनः निर्वाचन कार्यतालिका सार्वजनिक
-
कांग्रेस महाधिवेशन : सोमबार बिहान सवा ९ बजेबाट बन्दसत्र, १ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय
-
स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य


प्रतिक्रिया