९.७७ प्रतिशतले बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति ?
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक बजेटमा वृद्धि भएको छ । गत वर्षको तुलनामा ९.७७ प्रतिशतले बढेको हो । बिहीबार बसेको त्रिवि सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजारको बजेट बिनियोजन गरेको छ ।
विश्वविद्यालयको ६७औँ सभामा रजिष्ट्रार डा. रविन्द्र सिवाकोटीले बजेट प्रस्तुत गरेका थिए । विश्वविद्यालयले प्रस्ताव गरेको कुल बजेटमध्ये ४९.३८ प्रतिशत अर्थात् १५ अर्ब २४ करोड २७ लाख ५ हजार आन्तरिक स्रोतबाट र ५०.६२ प्रतिशत अर्थात् १५ अर्ब ६२ करोड ८४ लाख तीन हजार रुपैयाँ नेपाल सरकारबाट व्यहोर्ने अनुमान गरेको छ ।
तर, चालु आर्थिक वर्षका लागि नेपाल सरकारले त्रिविलाई सात अर्ब ३१ करोड ६ लाख ५६ हजार रुपैयाँ मात्र अनुदान विनियोजन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा चार अर्ब ८० करोड रुपैयाँ कम हो । शिक्षक तथा कर्मचारीको तलब वृद्धि र प्रोत्साहन भत्ताबाट थप दायित्व सिर्जना हुने भएकाले विश्वविद्यालयलाई कुल आठ अर्ब ३१ करोड ७७ लाख ४७ हजार अपुग हुने त्रिविले जनाएको छ ।
विश्वविद्यालयका अनुसार, उक्त रकम सरकारले उपलब्ध नगराए अनिवार्य दायित्वअन्तर्गतका खर्चसमेत धान्न कठिन हुने अवस्था छ । आवश्यक रकमको व्यवस्था गर्न नेपाल सरकारसँग पहल भइरहेको त्रिविले जनाएको छ । विश्वविद्यालयले अपुग रकम व्यवस्था गरिदिन प्रधानमन्त्री एवं त्रिविका कुलपतिसमक्ष आग्रह समेत गरेको छ ।
प्रस्तावित बजेटमध्ये सञ्चालन खर्चमा ८६.१४ प्रतिशत र पुँजीगत खर्चमा १३.८६ प्रतिशत विनियोजन गर्ने प्रक्षेपण गरिएको छ ।
त्रिविले प्राध्यापक तथा कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिम, सेमिनार तथा गोष्ठी सञ्चालन गर्न २१ करोड ७७ लाख ८९ हजार रुपैयाँ विनियोजन गरेको छ । अनुसन्धान तथा विकासका लागि ४३ करोड ७५ लाख ५२ हजार रुपैयाँ छुट्याइएको छ । यो कुल बजेटको १.४१ प्रतिशत हो ।
त्यस्तै, सूचना प्रविधि तथा प्रशासनिक संयन्त्र व्यवस्थापनका लागि आठ करोड विनियोजन गरिएको छ । करार सेवामा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्तरिक स्रोतबाट दिइँदै आएको महँगी भत्ता र चाडपर्व खर्चलाई समेत निरन्तरता दिने व्यवस्था गरिएको त्रिविले जनाएको छ ।
नेपाल सरकारको निर्णयअनुसार २०८३ साउन १ गतेदेखि लागु हुने नयाँ तलबमान र एक दिनको तलबबराबरको ग्रेड रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ । तलब वृद्धि भएपछि कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्तासमेत सोही मितिदेखि लागु गर्ने प्रस्ताव गरिएको छ ।
यसैगरी, बजेट सीमाभन्दा बढी खर्च गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न आन्तरिक स्रोतबाट अत्यावश्यक खर्च गर्नुपरे सम्बन्धित निकायले केन्द्रीय कार्यालयबाट अनिवार्य पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।
त्रिविले विश्वविद्यालय अनुदान आयोगबाट आर्थिक वर्ष २०८२/०८३ मा १६ वटा कार्यक्रमअन्तर्गत प्राप्त अनुदानबाट भएका खर्चलाई समेत अनुमोदन गर्न सभासमक्ष प्रस्ताव गरेको छ।
विश्वविद्यालयले नियमित, आन्तरिक र विकास कार्यक्रमका रूपमा बजेट विनियोजन गर्दै शैक्षिक गुणस्तर, अनुसन्धान, प्रविधिको प्रयोग तथा शिक्षक–कर्मचारीको क्षमता विकासलाई प्राथमिकतामा राखेको जनाएको छ ।
ताजा अपडेट
-
९.७७ प्रतिशतले बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति ?
-
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला
-
कांग्रेसको १५ औँ महाधिवेशन मतदान शुरू, ३ बजेसम्म मतदान हुने, आजै मतगणता थाल्ने तयारी
-
गगन थापाको मतदातासँग आग्रह : मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारौँ
-
दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला


प्रतिक्रिया