NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २ गते

सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता

सिन्धुली — सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित नागथानमा टाटा सुमो सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा परी अन्य चार जनाको उद्धार गरिएको छ।

प्राप्त विवरणअनुसार कार्तिक १ गते राति २:४० बजे काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको टाटा सुमो अनियन्त्रित भई सुनकोशी नदीमा खसेको थियो। सुमोमा चालकसहित १० जना सवार थिए। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

उद्धार गरिएका चार जनालाई उपचारका लागि घुर्मीस्थित स्थानीय मेडिकलमा पठाइएको छ। बेपत्ता तीन जनाको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।

सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस खुर्कोटबाट नौ जना गोताखोरसहित १० जना सुरक्षाकर्मी तथा ओखलढुङ्गाको अस्थायी मनसुन बेस हर्कपुरबाट १० जना सुरक्षाकर्मी घटनास्थलमा खटिएका छन्।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेको छ।

 

ताजा अपडेट

नेपालवाच विशेष