NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक ५ गते

भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्। उनले हरेक नागरिकलाई ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गराउनु आवश्यक रहेको बताएका छन्।

बुधबार जारी सन्देशमा प्रधानमन्त्री शाहले विकृति र विसङ्गति हटाउन इमानदार प्रयास, अठोट र सामूहिक मेहनत आवश्यक रहेको उल्लेख गरेका छन्। परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्नुपर्ने उनको भनाइ छ। उनले विजयादशमी असत्यमाथि सत्यको विजयको उत्सव भएको बताउँदै यस पर्वले अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिने उल्लेख गरेका छन्।

पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको दिनका रूपमा यस पर्वलाई लिइन्छ। प्रधानमन्त्री शाहले विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन्। साथै, यस पर्वले वर्षौँदेखि टाढिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता साट्ने अवसर प्रदान गर्ने उनले बताएका छन्।

प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै सबैलाई आआफ्नो क्षमताअनुसार पर्व मनाउन र आपसमा सद्भाव, एकता, सम्मान तथा माया साट्न आग्रह गरेका छन्।

ताजा अपडेट

नेपालवाच विशेष