आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म प्रतियोगिता नेपालमा आयोजना हुने जानकारी दिएको हो ।
प्रतियोगितामा आइसिसी विश्वकप लिग–२ का अन्तिम चार टोली तथा आइसिसी क्रिकेट विश्वकप च्यालेन्ज लिग ‘ए’ र ‘बी’ का शीर्ष दुई–दुई टोली गरी आठ वटा टोली सहभागी हुनेछन् ।
प्रतियोगिताको शीर्ष चारमा स्थान हासिल गर्ने टोली सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन् । नेपालसामु लगातार दोस्रोपटक एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउने अवसर छ ।
यसैबीच, प्रतियोगिता नेपालमा आयोजना हुने भएपछि नेपाल र भारत ‘ए’ बीचको क्रिकेट शृङ्खला पूर्वनिर्धारित तालिकामा नहुने भएको छ ।
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआई) र क्यानबीचको आपसी समन्वय तथा सहमतिमा नेपाल र भारत ‘ए’ बीचको नयाँ खेल तालिका तय गरिने क्यानका सचिव पारस खड्काले जानकारी दिए ।


प्रतिक्रिया