NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १० गते

लुम्बिनी लायन्सको शानदार सुरुवात, सुदूरपश्चिमलाई ७ विकेटले हरायो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साबिक विजेता लुम्बिनी लायन्सले सानदार विजयी सुरुवात गरेको छ। सोमबार त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानमा सम्पन्न उद्घाटन खेलमा गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि रक्षा अभियानको सुखद सुरुवात गरेको हो।

सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीको सहज जितमा डार्सी शर्टले आक्रामक ब्याटिङ गर्दै १८ बलमा चार चौका र तीन छक्कासहित सर्वाधिक ४० रन बनाए। आसिफ शेखले ३२ रनको योगदान दिए।

सुदूरपश्चिमका लागि बलिङतर्फ अनिल खरेलले दुई तथा कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए। तर, न्यून योगफलका कारण सुदूरपश्चिमले लुम्बिनीलाई दबाबमा राख्न सकेन।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो। लुम्बिनीका बलरसामु सुदूरपश्चिमको शीर्षक्रम टिक्न नसक्दा टोलीले प्रतिस्पर्धात्मक योगफल बनाउन सकेन।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। अनिल खरेल १५ रनमा अविजित रहँदा सैफ अली जैबले १३ रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सुदूरपश्चिमको ब्याटिङ धराशायी बनाउन लुम्बिनीका किशोर महतोले सर्वाधिक चार विकेट लिए। शेर मल्लले तीन विकेट हात पार्दा शेड्ली भान शाल्कविक, तिलकराज भण्डारी र कप्तान रोहित पौडेलले समान एक–एक विकेट लिए।

लुम्बिनीले बलिङमा सुदूरपश्चिमलाई सस्तैमा समेट्नुका साथै ब्याटिङमा पनि आक्रामक प्रदर्शन गर्दै ६१ बल बाँकी छँदै लक्ष्य पूरा गरेको हो।

उद्घाटन खेलमै बलिङ र ब्याटिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेको लुम्बिनीले प्रतियोगितामा आफ्नो उपाधि रक्षा अभियानलाई बलियो सुरुवात दिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष