NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक ११ गते

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन

बागमती । बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकको यस वर्षको दसैँ बिदाका समयमा १५ हजार बढी पर्यटकले अवलोकन गरेका छन् ।

हेटौँडाको पहिचानका रुपमा स्थापित स्मारकमा असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते कोजाग्रत पूर्णिमासम्म १५ हजार ६ सय ९४ जना पर्यटकले अवलोकन गरेको स्मारक कार्यालयका लेखा अधिकृत आशिष बिडारीले जानकारी दिए ।

दसैँको बिदामा हरेक वर्ष पर्यटकहरूको चाप बढ्ने गरेको बताउँदै उनले विशेष गरी दसैँको टिकाको दिन पछि कोजाग्रत पूर्णिमासम्म दैनिक दुई हजारभन्दा बढी पर्यटकहरू स्मारकमा आउने गरेको जानकारी दिए ।

एउटै ढुङ्गामा इतिहासका विभिन्न कालखण्डमा भक्ति थापादेखि २०४६ सालसम्मका सहिदलाई समेट्ने गरी १२ सहिद र ज्ञातअज्ञात सहिदको प्रतिनिधिका रूपमा एक महिला र एक पुरुषको अमूर्त आकृति समावेश गरिएको सहिद स्तम्भदेखि यहाँ रहेका मनमोहन बाटिका, जातीय सङ्ग्रहालय, चिडियाखाना आदि प्रमुख आकर्षणका रुपमा रहेका छन् ।

त्यस्तै विभिन्न जनावरहरू रहेको मिनी चिडियाखाना, बुद्ध पार्क, धरहरा उद्यान, नर्सरी ग्रीन हाउस, फोहोरासहितको पार्क आदिले यहाँको आकर्षण बढाएका छन् ।

दसैँ बिदाको समयमा आउने पर्यटकलाई लक्षित गरी विजयादशमीका दिन पनि स्मारक खुला हुने जानकारी दिँदै लेखा अधिकृत बिडारीले वर्षको ३ सय ६५ दिन नै स्मारक खुल्ने गरेको जानकारी दिए । दसैँ बिदा अवधिमा पर्यटकले प्रवेशबापत काटेको टिकटबाट नौ लाख ३७ हजार ८ सय ६५ रुपैयाँ आम्दानी भएको उनले जानकारी दिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष