NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १४ गते

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३ लाख बढी आन्तरिक तथा बाह्य पर्यटक र यात्रुलाई यातायात सेवा प्रदान गरेको जानकारी दिएको छ ।

लिमिटेडले नेपाल भ्रमणमा आउने विदेशी तथा आन्तरिक पर्यटक तथा हवाई यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रारम्भिक गन्तव्यसम्म यातायात सेवा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीका अध्यक्ष पुरुषोत्तम सिम्खडाले आन्तरिक तथा बाह्य पर्यटक तथा हवाई यात्रुलाई लक्षित गरी कम्पनीले सहज र सुरक्षित रुपमा दिवा तथा रात्रिकालीन यातायात सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए ।

उनले दैनिक झन्डै चार हजारभन्दा बढी यात्रुलाई सेवा प्रदान गर्दै आएको बताए । हाल उक्त कम्पनीले २०८ पर्यटकीय सवारी साधनमार्फत पर्यटकलाई यातायात सेवा प्रदान गर्दै आएको छ । नेपालको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा पर्यटक यातायात सेवाको महत्त्वपूर्ण योगदान रही आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने पर्यटकलाई व्यवस्थित यातायात सेवा उपलब्ध गराउँदा उनीहरूको नेपाल बसाइ थप सहज र सुखद बन्न सहयोग पुग्ने अध्यक्ष सिम्खडाले बताए ।

पर्यटकको बढ्दो आवागमनसँगै यातायात सेवालाई थप व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन कम्पनीले निरन्तर रुपमा काम गर्दै आएको उनको भनाइ छ ।

पछिल्लो समय भने निजी नम्बर प्लेटका सवारीसाधनले गैरकानुनी रुपमा भाडामा मान्छे बोक्दा व्यवसायी थप समस्यामा परेको उनले बताए ।

विसं २०६७ मा स्थापना भएको उक्त कम्पनीले हाल ४५० भन्दाबढी स्वरोजगार चालक तथा कर्मचारीलाई रोजगारी प्रदान गर्दै आएको छ ।