NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १४ गते

सञ्चारगृहमा प्रहरी हस्तक्षेप शाही कालको झल्को हो: गगन थापा

काठमाडौं- नेपाली कांग्रेसले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने र जनदबाबपछि मात्र रिहा गर्ने प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेस महामन्त्री गगन थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्ने शैलीले शाही कालको निरङ्कुशताको झल्को दिएको बताएका छन्।

थापाले विगतमा पनि शासकहरूले सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि प्रहार गरेको उल्लेख गर्दै आजका दिनमा ती निरङ्कुश प्रवृत्ति दोहोरिनु लोकतन्त्रका लागि चिन्ताजनक विषय भएको बताए। उनले भने, ‘समाचार कक्षमै प्रहरी परिचालन गरेर पत्रकारहरूलाई पक्राउ गर्ने र धरपकड गर्ने यो शैलीले शाही कालको निरङ्कुशताको झल्को दिएको छ।’

स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको भन्दै थापाले कुनै सञ्चार माध्यम वा पत्रकारबाट त्रुटि भएमा त्यसको निरूपणका लागि प्रेस काउन्सिल लगायतका कानुनी तथा संस्थागत प्रक्रियाहरू विद्यमान रहेको स्पष्ट पारे। उनले ती प्रक्रियालाई बेवास्ता गर्दै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनको शासनलाई लत्याएर कानुनलाई शासनको औजार बनाउने प्रवृत्ति तर्फ उन्मुख हुनु भएको टिप्पणी गरे।

कांग्रेसले सञ्चार माध्यम र पत्रकारमाथि गरिएको यस्तो दमनकारी कदमको कडा शब्दमा भत्र्सना गरेको छ। पार्टीले सरकारसँग नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तुरुन्त रोक्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका यस्ता कदम तत्काल सच्याउन माग गरेको छ।