NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १८ गते

पत्रकार पक्राउबारे प्रधानमन्त्रीलाई जानकारी थिएन: सरकारका प्रवक्ता

काठमाडौं- पत्रकारमाथि भएको धरपकडका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहलाई कुनै जानकारी नभएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्। मंगलबार मन्त्रिपरिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले यस्तो स्पष्ट पारेका हुन्।

समाचार कक्षमै पुगेर प्रहरीले पत्रकारमाथि गरेको धरपकड सरकारको अनुमतिमा नभएको उनले दाबी गरे। मन्त्री पोखरेलले भने, ‘सरकारसँग पूर्ण अनुमति लिएर गरेको होइन। त्यसमा सरकारलाई, प्रधानमन्त्रीलाई त्यसको केही पनि जानकारी थिएन।’ उनले यसलाई प्रहरीको आन्तरिक कामका रूपमा व्याख्या गरे।

प्रधानमन्त्रीले प्रहरी महानिरीक्षक (आईजीपी) निलम्बन गर्न लागेको भनी फैलाइएको भ्रमपूर्ण सूचनाको स्रोत पत्ता लगाउन प्रहरीले आन्तरिक जाँचबुझ मात्र गरेको मन्त्री पोखरेलको भनाइ छ। उनले भने, ‘यदि त्यहाँ गैरकानुनी काम केही भएको छ, त्यसमा गृह मन्त्रालयले हस्तक्षेप गर्नुपर्ने त्यस्तो केही छ भने त्यो भइहाल्छ। तर अहिलेसम्म हाम्रो बुझाइअनुसार प्रहरीले संवेदनशील सूचनाहरू हुँदै नभएको भ्रामक कुरा आएको हुनाले सामान्य कसरी भयो, के भयो भनेर सोधपुछ मात्र भएको हो।’

पत्रकार पक्राउ परेको जानकारी पाउनेबित्तिकै प्रधानमन्त्री शाहले उनीहरूलाई तत्काल रिहा गर्न निर्देशन दिएको प्रवक्ता पोखरेलले जानकारी दिए। उनले भने, ‘यसको जानकारी आउनेबित्तिकै प्रधानमन्त्रीज्यूले कोही पनि पत्रकारलाई सोधपुछका लागि पनि नलानू, कोही सोधपुछका लागि हिरासतमा हुनुहुन्छ भने पनि रिहा गर्नु भन्ने निर्देशन भएको हो।’

पत्रकार धरपकडको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनुसन्धान गरी कारबाही गर्न सरकारलाई दिएको निर्देशनबारे सोधिएको प्रश्नमा मन्त्री पोखरेलले घटना प्रहरीको आन्तरिक विषय रहेको दोहोर्‍याए। उनले थपे, ‘यदि गैरकानुनी काम भएको रहेछ भने गृह मन्त्रालयले आवश्यक परे थप काम कारबाही गर्छ।’