NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २० गते

चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

रसुवा । रोजगारीको खोजीमा विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला रसुवाका एक युवा भने गाउँमै चौँरीपालनमा रमाइरहेका छन । आफ्नै गाउँमा मेहनत र परिश्रम गरे सफल हुन सकिन्छ भन्ने उदाहरण बनेका छन्, गोसाइँकुण्ड गाउँपालिका–६ नागुङका ३४ वर्षीय पासाङ शेर्पा ।

तीन वर्ष मलेसियामा बिताएका पासाङले विदेशमा सोचेजस्तो आम्दानी गर्न नसकेपछि जन्मभूमि फर्केर पुर्ख्यौली पेसालाई व्यावसायिक बनाउने निर्णय गरे । हजुरबुबा र बुबाको पालादेखि हुँदै आएको चौँरी पालनलाई निरन्तरता दिने सोचसहित उनले परिवारको भागमा परेका १० वटा चौँरीबाट व्यवसाय सुरु गरे ।

विदेशबाट फर्किएको निर्णयलाई सही साबित गर्न उनलाई धेरै समय लागेन । विगत ११ वर्षदेखि निरन्तर चौँरीपालनमा लागेका पासाङसँग अहिले करिब रु ४५ लाख बराबरका ६० वटा चौँरी छन् । उनले उत्पादन गरेको दूध तथा दुग्धजन्य पदार्थ काठमाडौँस्थित दुग्ध विकास संस्थान (डिडिसी) मा बिक्री हुँदै आएको छ ।

पासाङका अनुसार चौँरीले वर्षमा छ महिना मात्र दूध दिन्छन । दूध दिने अवधिमा करिब रु ११ लाख बराबरको कारोबार हुन्छ । अन्य छ महिना चौँरी चरन क्षेत्रमा घाँस खाएर बस्छन् । वार्षिक खर्च कटाएर करिब रु पाँच लाख खुद आम्दानी हुने गरेको उनले बताए ।

गोसाइँकुण्ड गाउँपालिकाबाट तीन वर्षअघि प्राप्त रु सात लाख अनुदानले व्यवसायलाई थप व्यवस्थित र विस्तार गर्न सहयोग पुगेको पासाङको भनाइ छ । आफ्नै मेहनतले चौँरी फार्मलाई रु ४५ लाख बराबरको सम्पत्तिमा रूपान्तरण गर्न सफल उनी पुर्ख्यौली पेसालाई नयाँ पुस्तासम्म पुर्‍याउन चाहन्छन् । “अरूको देशमा पसिना बगाउनुभन्दा आफ्नै गाउँमा दुःख गरेअनुसारको प्रतिफल पाइन्छ,” पासाङ भन्छन्, “हाम्रा पुर्खाहरू दुःखमा परेका कारण हामीले धेरै पढ्न पाएनौँ, तर आज अनुभवकै बलमा यहाँसम्म आइपुगेका छौँ ।”

हजुरबुबाको पालादेखि चल्दै आएको चौँरी पालनलाई उनी नयाँ पुस्ताका लागि पनि प्रेरणाको स्रोत मान्छन् । त्यसैले व्यवसायलाई थप व्यवस्थित बनाउन नागुङमा १३ रोपनी जग्गामा चौँरीका लागि गोठ निर्माण गरेका छन् । विदेश जान युवाको लर्को लागिरहेका बेला पासाङले गाउँमै गरेको यो मेहनतले स्थानीयस्तरमा रोजगारी र आम्दानीको सम्भावना देखाएको छ । परम्परागत पेसालाई व्यावसायिक रूप दिन सके गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उनको सफलताले पुष्टि गरेको छ ।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ पासाङको मेहनत र लगनशीलताको प्रशंसा गर्छन् । उनका अनुसार पासाङ गाउँपालिकाकै उदाहरणीय र नमूना किसान छन् ।

त्यस्तै, वडा नं ६ का वडाध्यक्ष कर्मा दावा सिदार वाइबा पनि पासाङको व्यावसायिक सफलताले गाउँका अन्य युवालाई आफ्नै ठाउँमा उद्यम गर्न प्रेरित गरेको बताउछन् । “विदेशी भूमिमा पसिना बगाउनुभन्दा स्वदेशमै यस्ता व्यवसाय गर्न सके गाउँघर खाली हुने अवस्था आउने थिएन,” उनी भन्छन्।

परिवारको पुर्ख्यौली पेसालाई व्यावसायिक रूप दिँदै पासाङले देखाएको सफलताले गाउँमै सम्भावना खोज्ने हो भने विदेशिनु नै एकमात्र विकल्प होइन भन्ने सन्देश दिएको छ ।