NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २५ गते

सुदूरपश्चिमसँग जनकपुर बोल्ट्स २७ रनले पराजित

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा मंगलबार सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १२१ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर २० ओभरको खेल सकिन दुई बल बाँकी छँदा ९३ रनमा अलआउट भयो।

जनकपुरका लागि तृतराज दासले २१, जिम्मी निशमले २० र आदित्य महताले १० रन बनाए। टोलीका अन्य कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन्। बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगेलेनले ४ ओभरमा १३ रन खर्चिएर ३ विकेट लिए। यसैगरी हेमन्त धामी, थरिन्दु रत्नयके, दीपेन्द्रसिंह ऐरी, अनिल खरेल र इशान पाण्डेले समान १-१ विकेट हात पारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो। सुदूरका लागि ब्रान्डन म्याकमलेनले ३३ र थरिन्दु रत्ननायकेले २७ रनको योगदान दिए। जनकपुरका कप्तान हर्मित सिंहले ४ ओभरमा २२ रन दिएर ४ विकेट लिए। हेरी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले १-१ विकेट लिए।

यो जितसँगै सुदूरपश्चिम ६ खेलमा ८ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान खेल खेलेको जनकपुर ४ अंकका साथ छैटौँ स्थानमा झरेको छ।

ताजा अपडेट

नेपालवाच विशेष