NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २८ गते

एनपीएल : लुम्बिनी प्लेअफमा प्रवेश, पोखरा बाहिरियो

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार भएका दुई खेलले प्लेअफ समीकरणमा ठूलो फेरबदल ल्याएका छन्। विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गर्दै शीर्ष चारको सम्भावना बलियो बनाएको छ भने पोखरा प्रतियोगिताबाट बाहिरिएको छ। अर्को खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई ४ विकेटले हराउँदै प्लेअफमा स्थान पक्का गर्ने पहिलो टोली बनेको छ।

पहिलो खेलमा पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। विराटनगरका लागि बसिर अहमदले ३७ र लोकेश बमले ३३ रन बनाए। विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए, जसमा ह्याट्रिक पनि समावेश थियो। पोखराका युवराज सम्राले ८४ रन बनाए पनि टोलीलाई जोगाउन सकेनन्। यस हारसँगै ६ खेलमा २ अंक मात्र जोडेको पोखरा लिग चरणबाटै बाहिरिएको छ।

दोस्रो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्यो। पहिले ब्याटिङ गरेको कर्णाली १९.२ ओभरमा १०५ रनमा अलआउट भयो। जवाफमा लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। लुम्बिनीका डार्सी सर्टले सर्वाधिक ४६ रन बनाए। यो जितपछि ६ खेलबाट ९ अंक जोडेको लुम्बिनी तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको छ। लुम्बिनीका कन्सल्ट्यान्ट प्रशिक्षक शक्ति गौचनले टोलीको लक्ष्य पूरा भएकोमा खुसी व्यक्त गरे।

कर्णाली याक्स ६ खेलबाट ४ अंकसहित सातौँ स्थानमा छ। टोलीका अलराउन्डर गुल्शन झाले ब्याटिङमा सुधार आवश्यक रहेको बताए। अब कर्णालीले अन्तिम खेलमा चितवन राइनोजको सामना गर्नेछ भने विराटनगरले लिग चरणको अन्तिम खेलमा लुम्बिनीसँग खेल्नेछ।

ताजा अपडेट

नेपालवाच विशेष