NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २८ गते

चितवन प्लेअफको नजिक, जनकपुर प्रतियोगिताबाट बाहिरियो

काठमाडौं- चितवन राइनोजले जनकपुर बोल्ट्सलाई चार विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ। शुक्रबार सम्पन्न खेलमा जित निकालेसँगै चितवन सात अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ।

लिग चरणका ६ खेलमध्ये तीनमा जित, दुईमा हार र एक खेलमा अंक बाँडेको चितवनले शीर्ष चारको दौडमा आफूलाई बलियो बनाएको हो। चितवनको जितले ६ अंक भएको विराटनगर किंग्स तालिकाको पाँचौँ स्थानमा झरेको छ।

यता, चितवनसँगको हारपछि जनकपुर प्रतियोगिताबाट बाहिरिएको छ। सात खेल खेलेको जनकपुर दुई खेलमा मात्र विजयी हुँदै चार अंकसहित बाहिरिएको हो। एनपीएलबाट बाहिरिने जनकपुर दोस्रो टोली बनेको छ; यसअघि पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिसकेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो। जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए। चितवनका बलर रन्जित कुमारले तीन ओभरमा एक मेडन राख्दै दुई रन खर्चेर तीन विकेट लिए। सिकन्दर राजा र कामिल मिसाराले दुई-दुई विकेट हात पारे।

८९ रनको सामान्य लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। चितवनका लागि डविड मलानले सर्वाधिक ३५ रन बनाए। जनकपुरका राहुल यादवले तीन विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। शनिबार साँझ ५ बजे विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुने तालिका छ।

ताजा अपडेट

नेपालवाच विशेष