NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर ६ गते

मन्सेको कीर्तिमानी शतकमा सुदूरपश्चिमले जित्यो एनपीएलको उपाधि

काठमाडौं । जर्ज मुन्सेको ऐतिहासिक शतकीय पारीको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलोपटक एनपीएल च्याम्पियन बनेको हो।

शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्‍यो।

सुदूरपश्चिमको जितका नायक बनेका जर्ज मुन्सेले ५४ बलमा अविजित १२५ रन बनाए। उनले आफ्नो इनिङमा १२ छक्का र ८ चौका प्रहार गरे। मुन्सेले मात्र ४९ बलमा शतक पूरा गर्दै एनपीएल फाइनलमा शतक बनाउने पहिलो खेलाडीको कीर्तिमान कायम गरे।

अर्का ओपनर विनोद भण्डारीले २७ बलमा अविजित ३० रन बनाए। दुवै ओपनरले पहिलो विकेटका लागि उत्कृष्ट साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए।

सुदूरपश्चिमले लक्ष्य पछ्याउने क्रममा सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको थियो। पहिलो ओभरमा १२ रन जोडेको टोलीले तीन ओभरमा बिना विकेट २५ रन बनायो। पावरप्ले समाप्त हुँदा सुदूरपश्चिमको स्कोर ६० रन पुगेको थियो।

खेलको ६.४ ओभरमा लुम्बिनीका सन्दीप जोराले मुन्सेको क्याच छाडेपछि उनले जीवनदान पाएका थिए। त्यसको फाइदा उठाउँदै मुन्सेले आक्रामक ब्याटिङलाई निरन्तरता दिए। १० ओभरको समाप्तिमा सुदूरपश्चिमले बिना विकेट ९० रन बनाइसकेको थियो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो।

लुम्बिनीको सुरुवात भने राम्रो हुन सकेन। दोस्रो ओभरको पहिलो बलमा आसिफ शेख १ रन बनाएर आउट भए। उनलाई स्कट कुगलेइनले पभेलियन फर्काए।

ताजा अपडेट

नेपालवाच विशेष