भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस
काठमाडौं । रसुवा–भोटेकोशी बाढीमा बेपत्ता भएका ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले नेपाल सरकारसमक्ष सिफारिस गरेको छ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज बसेको समितिको ३८औँ बैठकले उक्त सिफारिस गर्ने निर्णय गरेको हो।
समितिका अनुसार ४८ जिल्लाबाट यकिन भएका ३ हजार २९२ नेपाली नागरिक र सात विदेशी नियोगबाट प्राप्त विवरणअनुसार ६२३ विदेशी नागरिक गरी कुल ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सिफारिस गरिएको हो। यससम्बन्धी अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्नेछ।
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्मा परी बेपत्ता भएका व्यक्तिलाई नेपाल सरकारले मृत घोषणा गर्न सक्ने व्यवस्था छ।
यसअघि बेपत्ता नेपाली नागरिकका हकमा स्थानीय तहको सिफारिस र जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयका आधारमा विवरण संकलन गरिएको थियो। विदेशी नागरिकका हकमा सम्बन्धित मुलुकका नेपालस्थित कूटनीतिक नियोगबाट सूची प्राप्त गरिएको थियो।
यसैबीच, समितिको बैठकले ‘सबैका लागि पूर्वसूचना राष्ट्रिय मार्गचित्र २०८३–२०८७’ स्वीकृत गरेको छ। यसमार्फत २०८७ सालसम्म नेपालका सबै समुदायमा विपद् पूर्वसूचना प्रणालीको विस्तार, स्तरोन्नति र प्रभावकारी सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
त्यस्तै, बैठकले वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८३ र कार्ययोजना २०८३/८४–२०९१/९२ पनि स्वीकृत गरेको छ।
यसका साथै वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्ययोजना २०८३–२०८७ समेत बैठकबाट पारित गरिएको छ।
ताजा अपडेट
-
अस्ट्रेलियामा लागुऔषध सेवनकर्ताको सङ्ख्या बढ्दै, आधाभन्दा बढी नागरिकको प्रयोग
-
सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने नौ जना पक्राउ
-
भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारसमक्ष सिफारिस
-
डिजिटल हिंसाविरुद्ध प्रहरीको अपरेसन, २४ घण्टामा नौ जना पक्राउ
-
फरक स्वाद,फरक उर्जा : पाँच नयाँ फ्लेभरसहित एक्स्ट्रिम बजारमा

प्रतिक्रिया