NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २१ गते

तुइनबाट महाकालीमा खसेर ६३ बिलाए

पछिल्ला ६४ वर्षमा तुइनबाट खसेर दार्चुलामा मात्रै ६३ जना महाकाली नदीमा बिलाएका छन् । उनीहरूमध्ये दुईको मात्रै शव भेटिएको छ । ६१ जनालाई प्रहरी र स्थानीय तहको वडा कार्यालयले बेपत्ताको सूचीमा राखेका छन् । ०७२ मै तत्कालीन प्रधानमन्त्री केपी ओलीले तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । तर, दार्चुलामा मात्रै अझै आधा दर्जन तुइन छन्, पछिल्लोपटक बिहीबार मात्रै १२ वर्षीय बालकले ज्यान गुमाएका छन् ।

०१६ यता तुइनबाट महाकालीमा खसेकामध्ये ब्याँस गाउँपालिका– ५ का दिलीपसिंह धामी र वीरसिंह धामीको शव मात्रै भेटिएको हो । उनीहरू ०५८ मा सोही वडाको ठन्डापानीस्थित तुइनबाट खसेका थिए । यीसहित ब्याँस– ५ का मात्रै १९ जना जिल्लाका विभिन्न तुइनबाट खसेर बेपत्ता छन् ।

जिल्ला प्रहरी र वडा कार्यालयको तथ्यांकअनुसार ब्याँस– २ का मात्रै २४ जना तुइनबाट खसेर बेपत्ता छन् । सबैभन्दा धेरै यही वडाका नागरिक बेपत्ता भएका छन् । त्यस्तै, ब्याँस– ६ का आठ, ब्याँस– ३ का पाँच र ब्याँस– ४ का तीनजना बेपत्ता छन् । दार्चुलाकै नौगाड गाउँपालिकाका एक, दोलखाको भीमेश्वर नगरपालिका– ६ का एक, कैलाली लम्कीका एक र ठेगाना नखुलेका अर्का एक जना पनि तुइनबाट महाकालीमा बेपत्ता भएका छन् ।

सबैभन्दा धेरै १२ जना ब्याँस– २ को तल्लो दुम्लिङघाटस्थित तुइनबाट खसेका छन् । ब्याँस– ५ को ठन्डापानीस्थित तुइनबाट ११, ब्याँस– २ को मालघाट तुइनबाट नौ, ब्याँस– ५ को तिगरमघाटबाट ६ र ब्याँस– ६ को एलागाड तुइनबाट पाँचजना महाकालीमा बिलाएका छन् । त्यस्तै, ब्याँस– ४ को मगडाउँबाट चार तथा ब्याँस– ६ को कालागाड, ब्याँस– ५ को नाजीघाट र फताङघाटबाट तीन–तीनजना बेपत्ता भएका छन् । त्यस्तै, बिन्दलामा दुई तथा कल्जु, महाकाली, बर्तीघाट, बल्जुडी र घाटीबगडस्थित तुइनबाट एक–एकजना हराएका छन् ।

दोलखा भीमेश्वर– ६ स्थायी घर भएका इन्जिनियर ४२ वर्षीय राजेन्द्र न्यौपाने १३ जेठ ०७६ मा ब्याँस– ४ को बर्तीघाटस्थित तुइनबाट खसेका थिए । विश्व खाद्य कार्यक्रम लागू भएको तत्कालीन सुनसेरा गाविस जाने क्रममा उनले तुइन प्रयोग गरेका थिए ।

 

ताजा अपडेट

नेपालवाच विशेष