NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ७ गते

‘मेरो बिरामी तपाईले हेरिदिनु भनेर चुनावी प्रचारमा हिँडेको थिएँ’

काठमाडाैं । पोखरामा हिजाे भएको हवाई दुर्घटनामा राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक पनि रहेको पुष्टि भएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकरको आइतबार हवाई दुर्घटनामा निधन भएको हो ।

सेन्टरका पूर्वनिर्देशक डा सन्तोष पौडेलले डा. श्रेष्ठ दम्पतीको पोखरा घर जाने क्रममा हवाई दुर्घटनामा निधन भएको बताए । उनले आफू चिकित्सक सङ्घको निर्वाचनमा खट्नुपर्ने भएकाले आफ्ना बिरामीसमेत डा श्रेष्ठलाई हेर्न भनेका थिए । ‘दुई हप्ताअघि म चुनावमा निस्के मेरो बिरामी तपाईले हेरिदिनुहोला भनेको थिए,’ डा पौडेलले भने, ‘उहाँले मेरा बिरामी हेर्दै आइरहनुभएको थियो । तर आज घर जाने क्रममा सोच्दै नसोचेको दुःखद् घटना भयो ।’ डा पौडेल नेपाल चिकित्सक सङ्घको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार भएकोले चुनावी प्रचारका क्रममा देश दौडाहामा हुने भएपछि सेन्टरमा दुई हप्तादेखि बिरामी हेर्न छाडेका थिए । तीन वर्षअघि मात्र सेन्टरमा अर्थोपेडिक चिकित्सकको रुपमा डा श्रेष्ठले काम सुरु गरेका थिए । पोखरा महानगर गणेशटोलका ३३ वर्षीय श्रेष्ठ आज श्रीमती र सानो १० महिने बच्चासहित बिदामा घर गएका थिए ।

हवाई दुर्घटनामा अर्का चिकित्सक डा. गणेश थापा पनि परेका छन् । नेपाल चिकित्सक सङ्घका महासचिव डा बद्री रिजालले सङ्घका आजीवन सदस्य तीनै जनाको निधनले नेपालको चिकित्सा क्षेत्रका उज्जवल नक्षत्र गुमाएको बताए । आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान बिहान १०:५१ मा पोखरा सेती खोचमा दुर्घटना हुँद ७२ जनाको नै निधन भएको छ ।