राष्ट्रपति भण्डारीद्वारा सहिदप्रति श्रद्धाञ्जलि अर्पण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छिन् ।
उनले सहिद दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै सहिद दिवस देश र जनताका लागि प्राण आहुति दिने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन भएको उल्लेख गरिन् ।
नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा निरंकुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका आन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाहरूप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइँदै आइएको छ ।
राष्ट्रपति भण्डारीले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै सहादत भएको उल्लेख गर्दै आजको दिनले हामीलाई सहिदहरूले गरेको यही सर्वोच्च त्यागको स्मरण गराउने बताएकी छिन् । हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा सहिदहरूले गरेका बलिदानको प्रतिफल हो । तसर्थ सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जलि हुने उल्लेख उनले गरेकी छिन् ।
उनले न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाजका साथै समृद्ध राष्ट्र बनाउने सहिदको सपनालाई मूर्तरूप दिन आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्न यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छिन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया