देश छाडेर किन अर्जेन्टिना प्रवेश गरे रुसका ५००० गर्भवती महिला ?
काठमाडौं (एजेन्सी) । युक्रेनसँग युद्धरत रुसलाई गर्भवती महिला जोगाउन हम्मेहम्मे पर्न थालेको छ । पछिल्लो केही महिनामा मात्रै पाँच हजार बढी गर्भवती महिला देश छाडेर अर्जेन्टिनाको शरणमा पुगेका छन् । यसरी प्रवेश गर्नेमध्ये केहीलाई अर्जेन्टिनाले नियन्त्रणमा लिएको छ ।
स्वतन्त्रताको खोजीमा रुसी महिलाहरू आफ्नो गर्भावस्थाको अन्तिम चरणमा अर्जेन्टिना प्रवेश गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।
समाचारहरूमा जनाइएअनुसार अर्जेन्टिनामा विदेशीका सन्तान भए पनि देशमा जन्मिएको सुनिश्चित भएमा नागरिकता दिने कानून छ । अर्जेन्टिनाको राहदानीबाहकलाई अर्को अतिरिक्त सहुलियत के छ भने विश्वका १७१ देश जाँदा भिसा लगाउनु पर्दैन । तर रुसी नागरिकको अवस्था फरक छ । उनीहरूलाई अर्जेन्टिनाको जस्तो स्वतन्त्रता छैन ।अर्जेन्टिनाको नागरिक भएपश्चात प्राप्त हुने यिनै सहुलियतको लोभमा रुसी गर्भवती महिला अर्जेन्टिना प्रवेश गर्ने क्रम बढेको हो ।
‘रुसी महिलाहरू आफ्ना छोराछोरीहरूलाई अर्जेन्टिनाको नागरिकता दिन चाहन्छन् किनभने यसले रूसी राहदानीभन्दा बढी स्वतन्त्रता दिन्छ,’ एक अर्जेन्टिनी अधिकारीले यसबारे उल्लेख गर्दै भने ।
नेशनल माइग्रेस एजेन्सीले यसको पुष्टि गर्दै गर्भावस्थाको अन्तिम साता रुसी महिलाहरू अर्जेन्टिना प्रवेश गर्ने क्रम ह्वात्तै बढेको जनाएको छ । एजेन्सीका अनुसार, एउटै उडानमा गर्भवती अवस्थाका ३३ जनासम्म महिला भेटिएका छन् ।
यस्ता महिलाहरू विभिन्न झमेलामा समेत पर्ने गरेका छन् । सम्भावित झमेला तथा कानून छल्न उनीहरूले पर्यटकीय भिसा लिने गरेका छन् ।
यो क्रम बढेपछि अर्जेन्टिनाले कडाइ गरेको छ । आप्रवासन एजेन्सीका प्रमुख फ्लोरेन्सिया कारिग्नानोले बिहीबार उडानमा अर्जेन्टिनाको राजधानी आइपुगेका ३३ महिलामध्ये तीनलाई कागजातमा समस्या देखिएपछि हिरासतमा लिइएको बताइन्। रुसी महिलाले सुरुमा आफू पर्यटकका रूपमा अर्जेन्टिना जाँदै गरेको दाबी गरेको उनले बताइन्। । यस्ता घटनामा उनीहरु यहाँ पर्यटन गतिविधिमा संलग्न हुन नआएको पाइएको छ ।
यसरी अर्जेन्टिना प्रवेश गर्ने महिलाहरू स्थायी रूपमा बसोबास भने नगर्ने गरेको पाइएको छ । ‘सन्तान अर्जेन्टिनामा जन्मिएको कागजात प्राप्तिपछि उनीहरू स्वदेश फर्किंने गरेका छन्,’समाचारहरूमा भनिएको छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया