यसकारण चाहँदैनन् माधवलाई राष्ट्रपति बनाउन प्रचण्ड-देउवा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति उम्मेदवारमा समर्थन गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सक्रियता बढाएका छन् । यही फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनको उम्मेदवार मनोनयन शनिबार हुँदैछ ।
यही क्रममा नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुधबार उनकै निवास धुम्बाराही पुगेर भेटेका छन् । एमालेले नेपाललाई राष्ट्रपतिका उम्मेदवारमा प्रस्ताव गरेको नयाँ सन्दर्भमा दुईबीच भेट भएको हो ।
भेटमा नेपालले एमाले र कांग्रेसको राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति नबन्ने परिस्थिति देखापरेकाले आफूलाई समर्थन गर्न प्रस्ताव गरेका थिए ।
स्रोतका अनुसार, देउवाले नेपाललाई राष्ट्रपतिमा नजान सुझाव दिएका छन् । राष्ट्रपतिमा जाँदा भर्खरै निर्माण गरेको पार्टीको भविष्य संकटमा पर्ने भएकाले सक्रिय राजनीतिमा रहनु नै उपयुक्त हुने देउवाको भनाइ छ ।
‘तपाईं राष्ट्रपतिमा गएपछि पार्टी नै सकिन्छ, किन जानुहुन्छ ?,’ देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
ओलीले राष्ट्रपतिमा अघि सारेपछि माधवले प्रचण्डसँग पनि संवाद थालेका छन् । तर प्रचण्डले पनि देउवाले जस्तै घुमाउरो भाषामा उनको नाममा अरुचि देखाएका छन् ।
पुराना गठबन्धन दलका हितैषीले ग्रिन सिग्नलको छनक नदिए पनि माधव सबैको साझा उम्मेदवार बन्ने परिस्थिति निर्माण भएकाले आफ्नो पक्षमा माहोल बनाउन अग्रसर बनेका छन् ।
माधवलाई चाहँदैनन् प्रचण्ड, देउवा
सुरुदेखि नै प्रचण्डको चाहना ओलीको एस म्यानलाई राष्ट्रपति नबनाएर आफूअनुकूलका व्यक्तिलाई बनाउने छ । कांग्रेसले विश्वासको मत दिएपछि प्रचण्ड यही रणनीतिअनुसार एमालेमाथि लगातार हाबी भएका थिए ।
प्रचण्ड आफ्नो रणनीतिमा सफल भएका छन् । आफूअनुकूलको राष्ट्रपति बनाउने ध्याउन्नमा रहेका ओली गलेर माधव नेपालको पक्षमा खुल्न बाध्य भएका छन् ।
माधव नेपालको नाममा प्रचण्ड सकारात्मक बन्नुपर्ने हो । तर यो नामले उनी थप धर्मसंकटमा परेका छन् ।
स्रोतका अनुसार, देउवा र प्रचण्ड दुवै माधवलाई राष्ट्रपतिमा समर्थन गर्ने पक्षमा छैनन् । माधव मन नपरेर उनीहरूले समर्थन गर्न संकोच मानेका भने होइनन् । माधवलाई यो भूमिका दिँदा भविष्यमा एमालेले लाभ लिनसक्ने सुर्ताले उनीहरू अहिले नै संशकित बनेका हुन् । हुन् पनि, माधवलाई राष्ट्रपति बनाउँदा एकीकृत समाजवादी पार्टी नै एमालेमा विलय हुने र त्यसले ओली थप बलियो बनेर जुनसुकै बेला हस्तक्षेपकारी भूमिकामा आउनसक्ने सम्भावना छ । यही भयका कारण जुनसुकै हालतमा माधवलाई रोक्ने उनीहरूको तयारी छ । यसका लागि माधवलाई एक वर्ष सरकारको नेतृत्व दिएर भए पनि राष्ट्रपतिमा रोक्ने प्रचण्ड-देउवाको रणनीति रहेको बताइन्छ ।
‘माधवलाई बरु अन्तिम एक वर्ष सरकारको नेतृत्व दिएर भए पनि राष्ट्रपतिमा रोक्ने देउवा र प्रचण्डको रणनीति छ,’ स्रोतले भन्यो ।
तर एकीकृत समाजवादी यो अवसर चुकाउने पक्षमा देखिँदैन । एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल प्रमुख दलको स्विकार्य हुने व्यक्ति राष्ट्रपति भएपछि मात्र राजनीतिक स्थायित्व हुने भएकाले पार्टीका तर्फबाट पहल थालिएको बताउँछन् ।
प्रतिक्रिया