६ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै
चितवन । यहाँका छ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ह्युमन पापिलोमा भाइरस (एचपिभी) लगाइने भएको छ ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ११ देखि १३ वर्ष उमेर समूहका किशोरीका लागि खोप अभियान सञ्चालन गरेको हो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार माडी नगरपालिका र भरतपुर महानगरपालिकाभित्रका चार हजार किशोरीलाई खोप लगाइसकिएको छ । रत्ननगर नगरपालिकाका दुई हजार किशोरीलाई खोप लगाउने तयारी गरिएको छ ।
खोपका सम्बन्धमा रत्ननगर नगरपालिकाभित्रका २९ सामुदायिक र २७ संस्थागत विद्यालयका प्रधानाध्यापक, प्राचार्य र स्वास्थ्य शिक्षा अध्यापन गराउने शिक्षकशिक्षिकाका लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । यही फागुन १४ देखि १९ गतेसम्म रत्ननगरका विद्यालयमा खोप कार्यक्रम सुरु गर्न लागिएको हो ।
विश्व स्वास्थ्य सङ्गठनले पनि खोपबारे चासो देखाएका कारण नेपाल सरकारले सन् २०२३ देखि राष्ट्रिय खोप नीतिमा समावेश गर्न लागेको छ । यो एचपिभी खोप लगाएपछि भाइरसको सङ्क्रमणबाट बचाउँछ । अस्पतालका स्त्रीरोग विशेषज्ञ डा मञ्जु पाण्डेका अनुसार यो खोपले पाठेघरको मुखको क्यान्सरको मात्र नभइ योनीको क्यान्सर, मलद्वारको क्यान्सर, मुखको क्यान्सरबाटसमेत बचाउँछ ।
पाँचदेखि १२ महिनाको फरकमा दुई पटक खोप दिनुपर्ने उनले बताए । विश्वका धेरै देशमा लगाइएको यो खोपको खासै ‘साइड इफेक्ट’ छैन ।
धेरै जनासँग असुरक्षित यौन सम्पर्क गरेमा, सानै उमेरमा विवाह भएमा वा सानै उमेरदेखि यौनजन्य क्रियामा सहभागी भएमा, सानै उमेरमा बच्चा जन्माएमा, धेरै बच्चा जन्माएमा, पटकपटक गर्भपतन गराएमा, धुम्रपान गरेमा, लामो समयसम्म हार्मोनयुक्त परिवार नियोजनका साधन प्रयोग गरेमा पाठेघरको मुखको क्यान्सर हुनसक्ने डा पाण्डेको भनाइ छ ।
एक अध्ययनले पाठेघरको मुखको क्यान्सर एचपिभी खोप लगाउँदा ९० प्रतिशत जतिले घटाउने देखाएको छ । यो क्यान्सर विश्वभरका महिलामा धेरै लाग्नेमा चौथो नम्बरमा पर्छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया