NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

युट्युबमा फर्किए डोनाल्ड ट्रम्प, भने– कुराएकोमा ‘सरी’

काठमाडौं । आफ्नो युट्युब च्यानलबाट गायब भएको दुई वर्षपछि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फेरि फर्किएका छन् ।

उनले आफ्नो युट्युब च्यानल र आफ्नो फेसबुक पेजमा ११ सेकेन्डको भिडियो पोस्ट गर्दै फर्किएको जनाएका छन् ।

आफ्नो चुनावी र्‍यालीको भिडियो पोस्ट् गर्दै उनले लेखेका छन्, ‘तपाईंलाई पर्खाइराखेकोमा माफी चाहन्छु । यो जटिल विषय थियो ।’

सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनमा पराजयपछि उनका समर्थकहरूले वाशिङटनको क्यापिटल बिल्डिङमा आक्रमण गरेपछि उनको सामाजिक सञ्जाल अकाउन्ट फ्रिज गरिएको थियो । उनीमाथि सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकहरूलाई आक्रमण निम्ति उक्साएको आरोप छ ।

ट्रम्प पुनः राष्ट्रपति उम्मेदवार हुने चर्चा छ । सामाजिक सञ्जालमा उनको पुनरागमनलाई यसैसँग जोडेर हेरिएको छ ।

युट्युबले चुनाव लड्ने सबै प्रमुख उम्मेदवारको कुरा सुन्न पाउने अधिकार मतदातालाई रहेको जनाएको छ ।

यस वर्षको जनवरीमा ट्रम्पले फेसबुक र इन्स्टाग्राममा पनि पुनरागमन गरेका थिए। उनको ट्विटर खाता पनि गत वर्ष नोभेम्बरमा रिस्टोर गरिएको थियो।

अमेरिकी नागरिक स्वतन्त्रता संघले यो निर्णयको स्वागत गरेको छ । यद्यपि, मिडिया म्याटर्सजस्ता केही वकालत गर्ने समूहहरूले यसको आलोचना गरेका छन् ।