आठमहिनामा पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लंघनको अभियोगमा उक्त सवारीसाधनलाई कारबाही गरेको हो । कार्यालयका अनुसार सबैभन्दा बढी सवारी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ हजार चार सय ७२ सवारीसाधन कारबाहीमा परेका छन् ।
यस्तै बढी भाडा लिने दुई हजार एक सय ९०, सवारीचालक अनुमतिपत्र प्राप्त नगरेका ३६ हजार तीन सय ४०, हदभन्दा बढी मानिस वा सामान बोक्ने १३ हजार पाँच सय नौ, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ३७ हजार आठ सय ९६ सवारी कारबाहीमा परेका छन् ।
यसैगरी क्षमताभन्दा बढी यात्रु बोक्ने दुई हजार ४५, रेड लाइटमा सवारी चलाउने १६ हजार नौ सय ६८, सवारी मोड्न निषेध गरेको ठाउँमा सवारी मोड्ने १५ हजार दुई सय ५९, लेन अनुशासन उल्लंघन गर्ने १९ हजार आठ सय १७, वानवेमा सवारी चलाउने २१ हजार एक सय २३, अवस्था ठीक नभएका सवारी चलाउने २८ हजार आठ सय ९९, सवारी चलाउन निषेध गरिएको ठाउँ र समयमा सवारी चलाउने १६ हजार दुई सय ४७ सवारीलाई कारबाही गरेको हो ।
पेटी र हेल्मेट नबाँधी सवारीसाधन चलाउने २१ हजार नौ सय ८१, लापरवाही साथ सवारी चलाउने ७२ हजार एक सय ४४, कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ४४ हजार ३८, सवारी वजन हद निर्धारण गरेको क्षेत्रमा बढी वजनको सवारी चलाउने २० हजार छ सय ६५, जथाभावी हर्न बजाउने १२ हजार छ सय २२, सार्वजनिक स्थानमा बाधा पुग्ने गरी सवारी राख्ने ३७ हजार दुई सय ६५ र ओभर स्पिडमा सवारी चलाउने २५ हजार सात सय ८२ सवारीसाधन कारबाहीमा परेका छन् ।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो समय उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले विशेष निगरानी बढाउँदै आएको जानकारी दिए । ‘ट्राफिक नियम उल्लंघन गर्दा दुर्घटनाको सङ्ख्या बढेकाले हामीले यसलाई विशेष कडाइ गरेका हौँ’, उनले भने ।
हाल काठमाडौं उपत्यकाभित्र २० लाख हाराहारीमा सवारीसाधन आवतजावत हुँदै आएको जनाइएको छ । उक्त सवारीसाधन व्यवस्थापनका लागि काठमाडौँ उपत्यका ट्राफिक कार्यालयबाट एक हजार सात सय ट्राफिक प्रहरी परिचालन हुँदै आएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया