शुक्लाफाँटामा खरमजुरको गणना गरियो
दोधारा चाँदनी । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना गरिएको छ । राष्ट्रिय निकुञ्ज कार्यालय र नेपाल पन्छी संरक्षण सङ्घले संयुक्त रूपमा एक सातासम्म विश्वमै अति सङ्कटापन्न अवस्थामा रहेको खरमजुरको गणना गरेको हो ।
नेपाल पन्छी संरक्षण सङ्घका परियोजना सहायक हिरुलाल डगौराले चैत ८ देखि १४ गतेसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना गरिएको बताए । ‘यो विश्वकै अति सङ्कटापन्न पन्छी हो’, डगौराले भने, ‘खरमजुर नेपाल, भारत, क्याम्बोडिया र भियतनाममा मात्रै पाइन्छ ।’ उनले राष्ट्रिय रुपमा खरमजुरको गणना भइरहेकाले केही समयपछि मात्रै तथ्याङ्क सार्वजनिक गरिने बताए । खरमजुर नेपालमा शुक्लाफाँटा, बर्दिया, चितवन राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइने उनले बताए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय कञ्चनपुरका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले एक सातासम्म निकुञ्जमा खरमजुर पाइने स्थानमा अध्ययन गरिएको बताए । उनले भने, ‘सङ्घले हाम्रो विभागमा रिपोर्ट बुझाएपछि मात्रै तथ्याङ्क सार्वजनिक गरिन्छ ।’ग्रीष्मयामको सुरुआतदेखि बर्खायाम नलाग्दासम्म यसको प्रजनन समय भएकाले यो समयमा खरमजुर निकुञ्जको घाँसेमैदानमा देख्न पाइन्छ ।
निकुञ्जको शुक्लाफाँटा घाँसे मैदान, हरैया, लालपानी र अर्जुनी लगायतका घाँसे मैदानमा ७१ वटा केन्द्र निर्धारण गरी गणना गरिएको थियो । सन् २०२१ मा गरिएको गणनाअनुसार शुक्लाफाँटामा आठ वटा खरमजुर रहेको प्रमुख संरक्षण अधिकृत मेहताले बताए । शुक्लाफाँटामा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार यहाँ चार सय ५४ प्रजातिका चरा रहेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया