टर्च बालेरै प्रसूति सेवा
सिमकोट । हुम्लाको दुर्गम बस्तीमा विद्युत् सेवा सर्वसुलभ नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या हुने गरेको छ ।
विशेषगरी स्वास्थ्य चौकीमा प्रसूति गराउन समस्या हुने गरेको जनाइएको छ । ‘टर्च’ बालेर सुत्केरी गराउनुपर्ने बाध्यता रहेको स्वास्थकर्मीको भनाइ छ । विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत् वितरण केन्द्रको चर्को लोड सेडिङका कारण स्वास्थ्यकर्मीलाई ‘मोबाइल’ र अन्य ‘टर्च’ बालेर सुत्केरी गराउनु परेको हो ।
ठेहे स्वास्थ्य चौकीका प्रमुख दानबहादुर बोहराले भने, ‘मोबाइल र टर्च बालेर सुत्केरी गराउनुपर्ने बाध्यता रहेको छ । हिल्दुम विद्युत् वितरण केन्द्रबाट आपूर्ति हुने विद्युत् नियमित नहुँदा गर्भवतीलाई सुत्केरी गराउन समस्या हुने गरेको छ । ’ यही बैशाख ४ मा प्रसूतिगृहमा आएकी ठेहेकी २० वर्षीया नन्द भण्डारीलाई तीन घण्टा लामो समय टर्च बालेर प्रसूति गराउनु परेको गुनासो प्रमुख बोहराले गरे ।
विद्युत् आपूर्ति नहुनु र स्वास्थ्य चौकीमा रहेको सोलारले काम नगरेपछि स्वास्थ्यकर्मी र बिरामीलाई समस्या खेप्दै आउनुपरेको छ । नवजात शिशुलाई अन्धकारमा हेरचाह गर्नु अनि आमालाई पनि चिसो पानीले सफा गर्नुपर्ने बाध्यता छ । हिल्दुुम विद्युत् वितरण केन्द्रले हाल दैनिक १७–१८ घण्टा लोड सेडिङ गर्ने गरेको कारण सुत्केरी तथा बिरामीको उपचार गर्न कठिन हुने गरेको छ ।
विद्युत् लोडसेडिङ बढेका कारण ठेहे स्वास्थ्य चौकी मात्र नभएर बरगाउँ, डाँडाफया र स्याडाँ स्वास्थ्य चौकीको अवस्था पनि उस्तै रहेको जनाइएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया