बैठक चलिरहेका बेला उपमेयरद्वारा कुटिए प्रमुख प्रशासकीय अधिकृत
कारबाही माग गर्दै प्रशासनमा उजुरी
काठमाडौं । महोत्तरीको बलवा नगरपालिकाकी उपप्रमुख रामदुलारी देवीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकुरमाथि कुटपिट गरी उद्दण्डता देखाएकी छिन् । पीडित प्रशासकीय अधिकृत ठाकुरले उपप्रमुखबाट आफूमाथि कुटपिट भएकाले कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीमा उजुरी दिएका छन् ।
प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट भएपछि उपमेयरविरुद्ध बलवा नगरपालिकाका कर्मचारीहरू आन्दोलित भएका छन् । उपमेयरमाथि कानुनअनुसार कारबाही नहुँदासम्म नगरपालिकाका अत्यावश्यकबाहेक अन्य काम गर्न नसकिने भन्दै कर्मचारीले काम रोकेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत ठाकुरका अनुुसार उपप्रमुख देवीले गत ३ वैशाखमा नगरपालिकाकै एक बैठक कक्षमा ठाकुरमाथि पानीको बोतलले टाउकोमा प्रहार गरेकी थिइन् । उपप्रमुखले एउटा एनजीओको बैठक भइरहेको समयमा एक्कासि बैठक कक्षमा पसेर गालीगलौज गर्दै आफूलाई टाउकोमा पानीको बोतलले प्रहार गरेको पीडित प्रशासकीय अधिकृत ठाकुरले बताए । ‘उहाँले टाउकोमा पानीको बोतल प्रहार गरेपछि एकछिन् त बेहोसजस्तै भएँ, अकल्पनीय घटनाले गर्दा त्यो क्षण केही समय मेरा दुईटै आँखा बन्दजस्तै भए, साह्रै पीडाबोध भयो,’ प्रमुख प्रशासकीय अधिकृत ठाकुरले भने ।
प्रमुख प्रशासकीय अधिकृत ठाकुरका अनुसार उपप्रमुखले उनकै गाउँको २५ लाखको योजनाका बारेमा गाउँलेबीच भएको विवादको विषयमा प्रमुख प्रशासकीय अधिकृतलाई मुछ्न खोजेकी थिइन् । केही दिनअघि मात्रै उपप्रमुखकै गाउँमा २५ लाखको विकास आयोजनाका बारेमा स्थानीय गाउँलेहरूबीच विवाद भएको थियो । विवाद भएपछि केही गाउँलेहरू उपभोक्ता समितिको विरुद्धमा नगरपालिकामा उजुरी लिएर आएका थिए । २५ लाखको सो योजनामा उपप्रमुख देवीले चलखेल गरेको स्रोतको दाबी छ । स्थानीयहरू उपप्रमुखसँग असन्तुष्ट रहँदै आएका छन् । त्यसैले स्थानीयहरू निवेदन लिएर नगरपालिकामा आएका थिए ।
नगरपालिकाका प्रमुख रामविजय महतोको निर्देशनअनुसार प्रमुख प्रशासकीय अधिकृत ठाकुरले सो निवेदन नगरपालिकामा दर्ता गराइदिएका थिए । तर, उपप्रमुख देवीले सो निवेदन आफूलाई नसोधी किन दर्ता गराएको भन्दै प्रमुख प्रशासकीय अधिकृत ठाकुरमाथि अपशब्द प्रयोग गर्दै बोतलैबोतलले प्रहार गरेको नेपाल समाचारपत्रमा खबर छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया