रेसुङ्गामा नेपाल एयरलाइन्सले अब नियमित उडान गर्ने

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज आज बिहान ७ बजेर ३९ मिनेटमा यहाँ अवतरण भएको हो ।
निगम र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले आज परीक्षण उडान गरेको हो । विसं २०६३ देखि निर्माण सुरु गरिएको उक्त विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो । कुल रु ३३ करोड लगातमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाइ पाँच सय २० मिटर र चौडाइ २० मिटर रहेको छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुद्र सतहदेखि एक हजार पाँच सय २६ मिटरको उचाइमा रहेको छ ।
आजको उडानपछि व्यावसायिक उडान गर्ने योजना रहेको वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेलले जानकारी दिए । प्राविधिक टोलीले सबै कुराको जानकारी लिएपछि निगमले व्यावसायिक उडान थाल्ने उनको भनाइ छ । कति यात्रु बोक्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेपछि मात्र भाडादर निर्धारण गरिने कँडेल बताउँछन् । “रेसुङ्गा– काठमाडौँ उडानको भाडा अहिले प्रतिव्यक्ति सरदर रु छ हजार पाँच सय हुने भनिए पनि अन्तिममा रु छ हजारसम्म कायम हुनसक्छ”, उनले भने ।
निगमका क्याप्टेन मनिष विष्टले एक साताभित्र नागरिक उड्ययन प्राधिकरणलाई आजको उडान प्रतिवेदन बुझाएपछि नियमित उडान हुने बताए । रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते पनि परीक्षण उडान गरिएको थियो ।
लामो समयपछि जहाज चढेर काठमाडौँ जाने गुल्मीवासीको सपना अब चाँडै साकार हुने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया