सुँड काटिएको सौराहाको हात्तीले दाना खान थाल्यो
चितवन । पर्यटकीय नगरी सौराहामा पालिएको हात्ती चञ्चलकलीले आफ्नो दाना आफैँ खान सुरु गरेको छ । गत चैत २१ गते राति अज्ञात समूहको आक्रमणबाट सुँड काटिएको सो हात्तीलाई ५० दिनदेखि माउतेले दाना खुवाउँदै आएका थिए ।
सुँड काटिएको एक महिनापछि पानी आफैं खान सुरु गरेको ४५ वर्षीया पोथी हात्तीले आज बिहानदेखि दाना आफैँ खान सुरु गरेको हात्तीधनी दीपेन्द्र खतिवडाले जानकारी दिए ।
उनका अनुसार प्राविधिकहरुले अब हात्तीलाई काममा फर्काउन सकिने जनाएका छन् । उनले भने, ‘हात्तीलाई काममा फर्काउन सकिने प्राविधिकको सल्लाह भए पनि अझै केही दिन आराम गराउने योजनामा छु ।’ हात्तीले अहिले पानीले आफैँ नुहाउने, आफ्नो शरीरलाई चाहिने बालुवा आफैं छर्कने, जङ्गलमा गएर हाँगा लुछ्ने, पात टिप्ने लगायतका काम गर्न थालेको उनले जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक र माउतेको अथक प्रयासले हात्ती अहिलेको अवस्थामा आउन सकेको हो । उनले भने, ‘हात्तीको सुँडले पैसाको सिक्का टिप्न भने अहिले पनि सकेको छैन ।’
हात्तीको उपचारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु प्राविधिक किरण रिजालसहितको टोली खटिएको छ । हात्तीलाई आक्रमण गर्ने पक्राउ पर्न सकेका छैनन् ।
हात्तीलाई यो ढङ्गको आक्रमण पहिलो पटक भएको हो । रातको समयमा अज्ञात व्यक्तिले हात्तीको सुँड काटेर भागेको बताइएको छ । सुँड काट्नेको खोजी चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले गरिरहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया