बुधबारदेखि भित्रियो मनसुन
काठमाडौं । नेपालमा यस वर्षको मनसुन बुधबारदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर समय जुन १३ तारिख भए पनि यस वर्ष सरदर मितिभन्दा एक दिन ढिला मनसुन भित्रिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार नेपाल भित्रिएको मनसुन कोशी, पूर्वी मधेस, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागसम्म पुगेको मौषमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार नेपालका अन्य भू–भागमा भने केही दिनमा क्रमिकरुपमा मनसुन फैलिँदै जाने छ ।
यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले यसअघि नै गरिसकेको छ । यद्यपि, यो सम्भावना स्थानपिच्छे फरक–फरक हुने जनाइएको छ ।
यसअघि गत दुई वर्ष लगातार औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण विभागले गरेको थियो । गत वर्ष भने औसतमै वर्षा भएको थियो । नेपालमा जुन, जुलाई, अगस्त र सेप्टेम्बर चार महिनालाई मनसुनको अवधि मान्ने गरिएको मौषमविद् प्रधानाङगले बताए । यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजारभन्दा धेरै नागरिक प्रभावित हुने अनुमान गरिएको छ ।
विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दुई लाख ८६ हजारभन्दा बढी घरपरिवारलाई यस वर्षको मनसुनले असर गर्नसक्ने सम्भावना छ ।
पछिल्लो २४ घण्टामा लमजुङको खदीबजारमा सबैभन्दा बढी एक सय ३५ दशमलव दुई मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ । त्यसैगरी बुधबार काठमाडौँमा ३९ दशमलव पाँच मिलिमिटर पानी परेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया