असार ८ र ९ गते ‘डिजिटल नेपाल कन्क्लेभ’ हुने

काठमाडाैं । डिजिटल रुपान्तरणका लागि नीतिगत बहस पैरवी गर्ने उद्देश्यले ‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ काठमाडौंमा आयोजना हुने भएको छ ।
आगामी असार ८ र ९ गते कन्क्लेव आयोजना गर्न लागिएको आयोजक आइसिटी फाउन्डेसन नेपालले जानकारी दिएको छ । ‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’को नारासहित आयोजना हुने कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसका लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिने फाउन्डेसनका अध्यक्ष राजन लम्सालले बताए ।
‘डिजिटल नेपाल कन्क्लेभ’ डिजिटल नेपालको अभियानलाई सघाउ पुर्याउने गरी फाउन्डेसनले गत वर्षदेखि सुरु गरेको बृहत् सम्मेलन हो । कन्क्लेभमा नेपाल, भारत, बङ्गलादेश, दक्षिण कोरिया, सिङ्गापुर, अमेरिकालगायत मुलुकबाट प्रस्तुतिको लागि विज्ञहरूको उपस्थिति हुनेछ ।
कन्क्लेभ आयोजनाका लागि आज ह्वावे र आइसिटी फाउन्डेसन नेपालबीच सम्झौता भएको छ । ह्वावे नेपालका सिइओ हवांङ जुन र फाउन्डेसनका अध्यक्ष राजन लम्सालबीच हस्ताक्षर भएको हो ।
डिजिटल रुपान्तरणको प्रयासस्वरूप आयोजना हुने कन्क्लेभमा सरोकारवाला, नीति निर्माता, डिजिटल उद्योगका अग्रणी व्यक्तिहरू एकै ठाउँमा उपस्थित हुनेछन् । कन्क्लेभको प्रि–इभेन्टको रूपमा फाउण्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो ।
यस वर्ष सातै प्रदेशको डिजिटल अवस्था समेटेर एक अनुसन्धान पुस्तिका पनि प्रकाशन हुने फाउन्डेसनले जनाएको छ । कन्क्लेभसँगै ह्वावेले मोबाइल नेपाल कंग्रेसको पनि आयोजना गर्दैछ, जहाँ फाइभजी, एआइलगायतका नयाँ प्रविधिका बारेमा प्रदर्शनी अवलोकन गर्न र जानकारी लिन सकिनेछ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया