‘लम्पी स्किन’ नियन्त्रणका लागि गोठगोठमा पशु प्राविधिक
पर्वत । पछिल्लो दुई महिनायता पर्वतमा गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोग तीव्रगतिमा फैलिएको छ ।
यहाँका सातवटै पालिकामा ‘लम्पी स्किन’ फैलिएपछि पशुपालक किसान समस्यामा परेका छन् । गत चैत २८ गते फलेवास नगरपालिका–९ भँगराको सिरुबारीमा किसानले पालेको एउटा गोरुमा उक्त रोग देखा परेको थियो । उक्त गोरुलाई आइसोलेशनमा राखी उपचार गरिएको थियो ।
उपचार पश्चात उक्त गोरुमा लागेको रोग १६ दिनमा निको भयो । भँगरासँगै त्यसपछि वडा नं ६ देवीस्थानमा पनि लम्पी स्किन रोग देखिन थाल्यो । देवीस्थानलगायत क्रमशः अहिले यो रोग जिल्लाभर फैलिएको छ । फलेवास नगरपालिकाका पशु विकास शाखा प्रमुख प्रताप पौडेलका अनुसार फलेवासमा तीन सयभन्दा बढी गाईगोरुमा यो रोग देखा परेको छ ।
हालसम्म पाँच गाई मरेका छन् । पौडेलका अनुसार भैँसीमा यो रोग हालसम्म देखा परेको छैन । फलेवास नपाले लम्पी स्किन रोग नियन्त्रणका लागि आवश्यक बजेट रकमान्तर गरेको छ । नगरपालिकाले पशु विकास शाखाअन्तर्गत आकस्मिक पशु रोग नियन्त्रण कार्यक्रममार्फत तीन लाख विनियोजन गरेर काम गदै आएको शाखाले लम्पी स्किन रोग बढेसँगै बजेट अभाव भएपछि सङ्घीय राजस्व बाँडफाँड शीर्षकबाट थप पाँच लाख विनियोजन गरेको हो ।
सुरुको चरणमा पशु विकास शाखामार्फत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको पशु विकास शाखाले रोग नियन्त्रणका लागि फिनेल, भिर्कोन लगायतका रसायन निःशुल्क वितरण गरिसकेको छ । नेपालमा सुरुवाती चरणमा लम्पी स्किन रोगका लागि खोपको मान्यता थिएन ।
वैशाखको अन्तिमतिर स्वीकृत पाएसँगै नगरपालिकाले निःशुल्क खोप खरिदका लागि बजेट विनियोजन गरेको पौडेलले बताए। लम्पी स्किन रोग तीव्र गतिमा फैलिन थालेको र यसको उपचार पद्दति महँगो हुँदा पशुपालक किसानलाई उपचारमा व्यापक आर्थिकभार पर्ने भएकाले नगरपालिकाले खोप खरिद गरी निःशुल्क रुपमा उपचार गर्न थालेको पशु विकास शाखा प्रमुख पौडेलको भनाइ छ ।
शाखाले उक्त रोगको नियन्त्रण र रोकथाम गर्नका लागि १० जना प्राविधिकलाई किसानको गोठगोठमा खटाएको छ । लम्पी स्किन रोग लागेका पशुको निरन्तर जाँच तथा निःशुल्क रुपमा उपचार खट्टिएको पशु प्राविधिकले बताएका छन् ।
हालसम्म एक हजार तीन सय पशुमा निःशुल्क रुपमा खोप लगाइएको नगरपालिकाले जनाएको छ । पशुमा रोग लागेर चिन्तित बनेका पशुपालक किसान निःशुल्क उपचारसहित खोप पाउँदा हर्षित भएका छन् ।
काप्री पक्स भाइरसको सङ्क्रमणबाट विशेषगरी गाईमा लाग्ने यो रोग भैँसीमा भने विरलै देखिन्छ । लम्पी स्किन रोग लागेका गाईबस्तुमा उच्च ज्वरो आउने र शरीरभरि साना–ठूला गिर्खा देखिने लक्षण देखिएको छ । शरीरका विभिन्न ठाउँमा विशेषगरी घाँटी, पछाडिको भाग, पेट र थुनवरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खा देखिन्छन् ।
यसका साथै कचेरा निकाल्ने, सिगान बग्ने तथा फिँज धेरै निकाल्ने, ‘लिम्फ नोड’हरू सुनिने, घाँटी तल पानी भरिने, दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र पछि बाँझोपन देखिन सक्नेजस्ता लक्षण देखिएको पौडेलले बताए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया