NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

कांग्रेस, एमाले र माओवादीको निरन्तरता देशको बर्बादी : लिङ्गदेन

गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई भोट दिएमा देश बर्बाद हुने बताएका छन् । बिहीबार गोरखा सदरमुकाममा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै उनले यी पार्टीहरूलाई भोट दिएर विगतमा गरेको गल्ती नदोहोर्‍याउन आग्रह गरे ।

‘३१ वर्षदेखि केही सीमित राजनीतिक दल र तीनका सीमित नेताको चक्रब्युमा देशसँगै हामी पनि फसेका छौ,’ उनले भने, ‘अबको चुनावमा पनि त्यही दलहरूलाई भोट दिने हो भने हामी बर्बाद हुने मात्र होइन, हाम्रो भावी सन्ततीको भविष्य पनि बर्बाद हुन्छ ।’

कांग्रेस, एमाले र माओवादीले चुनाव जितेर देश बनाउछ भन्नु साँढेको टाङमुनि बाल्टी थाप्नु जस्तै भएको लिङ्गदेनले टिप्पणी गरे । ‘साढेको टाङमुनि बाल्टी थापेर दूध आउँछ ? साँढेले दूध दिएन भनेर त्यसलाई सुम्सुम्याउँदा हुन्छ ? खान पुगेन भनेर दाना थपिदिदाँ दूध आउछ ? साँढेको धर्म नै दूध दिने होइन । त्यसैले ठूला भनिने दललार्इ भोट दिएर देश बन्छ भन्नु पनि त्यस्तै हो,’ उनले भने ।

ठुला भनिएका राजनीतिक पार्टीले देशलाई भिख माग्ने बनाएको दाबी गर्दै उनले एमसिसी पास गर्नु गलत भएको तर्क गरे ।

सभामा राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री कुन्तीकुमारी शाही, प्रवक्ता मोहन श्रेष्ठ र ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा, प्रवास आइसिसी संयोजक प्रेमकुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरू रामराजा कोइराला, लोकनाथ तिवारीलगायतले सम्बोधन गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष