प्रधानन्यायाधीशविरूद्ध उजुरी दिएर चर्चामा आएका न्यायाधीश भट्टराईले दिए राजीनामा

काठमाडौं। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिएर चर्चामा आएका न्यायाधीश श्रीकृष्ण भट्टराईले पदबाट राजीनामा दिएका छन् ।
आफैंले कानुनी र नैतिक रूपमा प्रश्न उठाएको व्यक्ति प्रधानन्यायाधीश भएको भन्दै उनले सोमबार राजीनामा दिएका हुन् । उनले न्यायपरिषद्बाट न्यायाधीश नियुक्तिको प्रक्रियाबारे पनि असन्तुष्टी पोखेका छन् ।
‘न्यायाधीश नियुक्तिको प्रक्रिया र नियुक्तीहरू राजनीतिक पार्टीका मानिसहरु, न्याय परिषद्का आफन्तहरू बाहिरबाट नियुक्ति गर्ने काम हुन्छ’, उनले भने, ‘तर हामी जुन करियरबाट आएका छौँ, उहाँहरु सबैको भविष्य अन्धकार भयो । राजनीतिक मानिसहरु अपारदर्शी ढंगबाट भर्ती गरिदिएपछि सबै न्यायाधीशको भविष्य डामाडोल भयो ।
फागुन २५ गते संवैधानिक परिषदले कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिको जेठ १६ मा बसेको बैठकले प्रस्तावित कार्कीविरूद्ध उजुरी दिन १० दिने सूचना जारी गरेको थियो ।
सोही सूचनाको उपयोग गर्दै बहालवाल न्यायाधीश भट्टराईले कार्कीविरूद्ध उजुरी दिएका थिए । भावी न्यायाधीशविरूद्ध मातहतका न्यायाधीशले नै उजुरी दिएपछि उनी निकै चर्चामा आएका थिए ।
उनी उजुरीमा मात्र सिमित नरहेर कार्कीलाई प्रधानन्यायाधीश नबनाउन समितिका सदस्यहरू भेटेर लविङ गरेको, मिडियामार्फत् कार्कीविरूद्ध आरोप लगाएका थिए ।
प्रतिक्रिया