NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३१ गते

आज चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल, कार्यतालिका यस्तो छ

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि चीन जाँदै छन्। चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हुन लागेको भ्रमण जेठ ३१ गतेदेखि असार ३ गतेसम्म चल्नेछ।

परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत भ्रमणको औपचारिक जानकारी सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्ष, आपसी सहयोग विस्तार तथा साझा हितका विषयमा विचारविमर्श हुने बताइएको छ। साथै, दुई देशबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने विषय पनि छलफलको केन्द्रमा रहनेछ ।

भ्रमण अवधिमा मन्त्री खनालले चीनका विभिन्न उच्चपदस्थ अधिकारीहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै, बेइजिङस्थित नेपाली दूतावासको आयोजनामा हुने लगानी सम्मेलनमा सहभागी हुँदै उनले नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने विषयमा धारणा राख्नेछन्। सम्मेलनका क्रममा चिनियाँ उद्योगी–व्यवसायीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत रहेको छ।

यसैबीच, नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि मन्त्री खनाल सहभागी हुनेछन्। उक्त अवसरमा उनले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा संवाद गर्नेछन्।

निर्धारित कार्यक्रम सम्पन्न गरी परराष्ट्रमन्त्री खनाल असार ३ गते स्वदेश फर्कने तालिका रहेको छ।

ताजा अपडेट

नेपालवाच विशेष