वैदेशिक रोजगारी छाडेर पशुपालन गरेका कृषक उत्कृष्ट
बेनी । बेनी नगरपालिका–७ कुरिलाखर्कका सुरेश ढुङ्गाना गण्डकी प्रदेशबाट उत्कृष्ट कृषि पुरस्कारका लागि छनोट भएका छन् । म्याग्दी जिल्लाकै अगुवा कृषकका रूपमा परिचित ढुङ्गानाले सञ्चालन गरेको ‘ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म’ गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट सार्वजनिक भएको उत्कृष्ट कृषि सम्मानको सूचीमा समावेश भएको हो ।
वैदेशिक रोजगारीका लागि एक दशक खाडी मुलुकका विभिन्न देशमा बिताएर स्वदेश फर्किएपछि विसं २०७० देखि निरन्तर पशुपालनमा सक्रिय ढुङ्गानालाई उत्कृष्ट कृषि पुरस्कारबाट शुक्रबार एक कार्यक्रमकाबीच सम्मान गरिने प्रदेशअन्तर्गत कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।
कतार, यूएई, बहराइन र साउदी अरबमा गरी दश वर्षपछि स्वदेश फर्केर रू पाँच लाखको लगानीमा एउटा भैँसी र गाईबाट पशुपालन सुरु गरेका ढुङ्गानाले अहिले मनग्ये आम्दानी गर्दै आएका छन् ।
वैदेशिक रोजगारीलाई बिट मारेर पशुपालन व्यवसायमा लाग्नुभएका ढुङ्गाना यही साता बेनी नगरपालिका वडा नं ७ बाट पनि उत्कृष्ट कृषकका रुपमा सम्मानित भएका थिए ।
फार्ममा अहिले स्थानीय र मुर्रा जातका दुहुना भैँसी, जर्सी गाई, बाच्छाबाच्छी गरी ३५ वटा पशु रहेका ढुङ्गानाले जानकारी दिए । उनका अनुसार फार्ममा रहेका ३० दुहुना गाई भैँसीबाट दैनिक दुई सय लिटरसम्म दूध उत्पादन गरी बिक्री हुने गरेको छ ।
फार्म निर्माण, गाई भैँसी खरिदलगायत कामका लागि हालसम्म रू एक करोड लगानी गरिसकेको ढुङ्गानाको भनाइ थियो । फर्ममा तीन जनाले रोजगारीसमेत पाएको उनले बताए ।
गण्डकी प्रदेशबाट उत्कृष्ट कृषकका रूपमा पुरस्कृत हुने खबरले पशुपालनलाई थप व्यवस्थितरूपमा अगाडि लैजाने ऊर्जा मिलेको ढुङ्गानाले बताए । गण्डकी प्रदेशले शुक्रबार विभिन्न विधाका पाँच जनालाई पुरस्कृत गर्दैछ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया